इस्लामाबाद – पाकिस्तानको तेहरिक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई सोमबार औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ।
पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारीअनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ । ‘पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,’ उनले बताए । उनले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदको संख्या पुग्ने दाबी पनि गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
पिटिआईका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसद्मा एक सय २५ जना सांसद आफ्नो पक्षमा रहेको चौधरीको भनाइ छ । तर, संघीय संसद्मा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धनमा रहेका पार्टीका गरी एक सय ७४ जना सांसद खानको पक्षमा रहेको पनि उनले जानकारी दिएका छन् ।
बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्ने बताइएको छ । पाकिस्तानमा गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट खानको पार्टी पिटिआई सबैभन्दा ठूलो पार्टी भएपछि उनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेको एएनआईले उल्लेख गरेको छ । निर्वाचनमा पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)ले ६४ सिट जितेर दोस्रो भएको थियो भने पाकिस्तान पिपल्स पार्टी (पिपिपी) ४३ सिटसहित तेस्रो स्थानमा आएको थियो ।
प्रकाशित: २१ श्रावण २०७५ ०४:३३ सोमबार