अन्तर्राष्ट्रिय

‘अमेरिकी चुनावलाई प्रभावित पार्न फेसबुकको प्रयोग’

तस्बिर : एजेन्सी

न्यूयोर्क– अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पार्नका लागि गम्भीर प्रयत्न भएको तथ्य फेला परेको फेसबुकले जनाएको छ।

यस्तो कार्यमा संलग्नहरुमा सम्भवतः रुसी नागरिक हुनसक्ने फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन सय दिन पनि बाँकी नरहेको अवस्थामा फेसबुकको तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप भने लगाइएको छैन । ‘कम्पनीको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलिएको पाइएको छ । तसर्थ ती खातालाई हटाइएको छ किनभने ती  खातामा नियोजित र अनाधिकृत राजनीतिक व्यवहार झल्कने सामग्री राखिएको थियो,’ फेसबुकले बताएको छ । फेसबुक कम्पनीका अनुसार ती खाताको ठेगानामा कम्तीमा वासिङ्टनका अधिकारी भने जोडिएको पाइएको छैन । झण्डै तीन लाख मानिसले यी प्रतिबन्धित खातासँग आफूलाई आबद्ध गराएको र प्रचारित सामग्रीमा मानिसले अभिरुचि देखाएको फेसबुकले जनाएको छ । ‘यो त बिल्कुलै हाम्रो लोकतन्त्रमाथि आक्रमण हो,’ सिनेट जासुसी समितिमा डेमोक्र्याट पार्टीका तर्फबाट भर्जिनियाका सांसद मार्क वार्नरले बताए । यस विषयमा फेसबुकले सिनेट कमिटीलाई पहिले नै जानकारी गराएको थियो ।

वार्नरको विचारमा यस आक्रमणमा रुसको मुख्य भूमिका रहेको छ । सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रास्लेका एकजना प्रवक्ताले रुसीहरुको एउटा समूहले फेसबुकको प्रयोगमार्फत गलत सन्देश फैलाउन खोजको जानकारी प्राप्त भएको बताए । फेसबुक खाता बन्द गरिएका यी समूह राजनीति प्रेरित रहेकोसमेत उनले जिकिर गरे । डिजिटल फोरेन्सिक रिसर्च ल्याबमा कार्यरत बेन निम्मो र ग्राहम ब्रुकीले ब्लग पोस्टमा लेख्दै पहिचान गरिएका ती खाताहरुले अमेरिकी नागरिकबीच विभाजन ल्याउन र एकअर्काविरुद्ध लड्न प्रोत्साहित गरेको बताएका छन् । गैरनाफामूलक सो ल्याबले फेसबुकबाट प्रदान गरिने सेवाको दुरुपयोगसम्बन्धी विश्लेषण गर्ने गरेको छ । क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्र्याट सांसद एडम सिफले मध्यावधि निर्वाचन अघि अझ बढी काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन्।

‘विदेशी तत्वहरुले सन् २०१६ चुनावताका प्रयोग गरेकैजस्तो विधि यसपटक अपनाउन थालेका छन् । उनीहरुले हामीलाई राजनीतिक र वैचारिक दृष्टिकोणबाट विभाजित गरिरहेका छन्,’ सांसद सिफलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ ।     संसदीय जासुसी समितिले सेप्टेम्बरमा फेसबुकका प्रमुख सञ्चालन अधिकृत सेरिल स्यान्डबर्ग, ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्से र गुगलका अधिकारीसँग संसदीय सुनुवाइ गर्ने योजना बनाएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपका सन्दर्भमा मिश्रित प्रतिक्रिया दिएका छन् । आगामी चुनावमा त्यस्तो हस्तक्षेपको सम्भावना छ त भनी गत साता सोधिएको प्रश्नमा ट्रम्पले मध्यावधि चुनावलाई लक्षित गर्ने सम्भावना भएको ट्विटमार्फत जानकारी दिएका छन् ।

मंगलबार मात्र ह्वाइटहासका प्रवक्ता होगान गिड्लेले राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा कुनै पनि राष्ट्र, राज्य वा अरु कुनै खराब तत्वले हस्तक्षेप गरेमा त्यसलाई अमेरिकी प्रशासनले सहन नसक्ने स्पष्ट गरेको उल्लेख गरेका थिए । यसैबीच अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्री कियस्र्टिन निल्सनले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको हुनसक्ने ३० वटा खाता बन्द गर्ने निर्णयको स्वागत गरेकी छन् ।उनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भएको भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने स्पष्ट पारेकी छन् ।

 

प्रकाशित: १७ श्रावण २०७५ ०३:१५ बिहीबार

अमेरिकी चुनावलाई प्रभावित पार्न फेसबुकको प्रयोग