अन्तर्राष्ट्रिय

पाकिस्तानी पूर्व प्रधानमन्त्री सरिफ बिरामी

फाइल फाेटाे : एजेन्सी

इस्लामाबाद – यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ जेलभित्रै बिरामी भएको पाकिस्तानका एक मन्त्रीले आइतबार बताएका छन्।

पूर्वप्रधानमन्त्री सरिफ र उनकी छोरीलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात वर्षका लागि जेल सजाय तोकिदिएपछि उनीहरुलाई यही जुलाई १३ गते पक्राउ गरिएको थियो । सरिफ र उनकी छोरीले बेलायतमा अवैध रूपमा सम्पत्ति जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि भ्रष्टाचारको विषयमा अनुसन्धान सुरु भएको थियो।

‘पूर्व प्रधानमन्त्री सरिफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ,’ पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृहमन्त्री सौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीका क्रममा बताए । ‘पूर्व प्रधानमन्त्री सरिफलाई इस्लामाबादस्थित ‘पाकिस्तान इन्स्ट्च्यिुट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ । उहाँ कति दिन अस्पताल बस्नुहुनेछ यो सबै चिकित्सकको सल्लाहमा निर्भर हुनेछ,’ जावेदलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । आफूलाई लक्षित गरी पाकिस्तानी शक्तिशाली सुरक्षा समूहबाट खतरा रहेको सरिफले बताउँदै आएका छन् । 

गत साताको बुधबार सम्पन्न भएको आमनिर्वाचनमा आफ्नो दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) प्रसिद्ध पूर्वक्रिकेट खेलाडी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफसँग पराजित भएपछि सरिफ आफ्नो राजनीतिक जीवनलाई जोगाउन संघर्षरत रहेको एएफपीले उल्लेख गरेको छ ।     सरिफलाई भ्रष्टाचार आरोप लागेपछि प्रधानमन्त्रीका रूपमा काम गर्न अयोग्य रहेको पाकिस्तानी अदालतले राय दिएको थियो । पछि उनी पार्टीको अध्यक्षबाट पनि हटेका थिए । सरिफको अनुपस्थितिमा उनकै सहोदर भाई सहवाजले पिएमएल–एनको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

पिएमएल–एनका नेता सहवाजले हालैको निर्वाचनमा धाँधली भएको भन्दै अन्य दलले झैं निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले निर्वाचनमा भएको धाँधलीको विरोधमा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । खानको पक्षमा परिणाम पार्न सेनाले सघाएको दाबी विभिन्न क्षेत्रबाट आइरहेको छ । खानको विजयले पिएमएल–एन र भुट्टो वंशको पाकिस्तान पिपुल्स पार्टी र सेनाबीच चल्दै आएको आलोपालो नेतृत्वलाई अन्त्य गरेको छ ।
 

प्रकाशित: १४ श्रावण २०७५ ०४:१७ सोमबार

पाकिस्तानी पूर्व प्रधानमन्त्री सरिफ बिरामी