अन्तर्राष्ट्रिय

अमेरिकी दूतावास अगाडि बिस्फोट

बेइजिङ- बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनियाँ नागरिकले विहीबार दिउँसाे बिस्फोटक पदार्थ पड्काएका छन्। प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ। 

चिनियाँ प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त बिस्फोटबाट अरु कसैलाई पनि क्षति पुगेको छैन्। अमेरिकी भिसाका लागि आवेदन दिने व्यक्तिहरु अन्तर्वार्ताका लागि लाम लाग्ने स्थानमा यो बिस्फोट गराइएको छ। 

बिस्फोटमा संलग्न व्यक्ति चीनको मंगोलिया क्षेत्रका निवासी हुन्। प्रहरीका अनुसार जियाङ नामका ती व्यक्तिलाई लागेको चोट त्यति गम्भीर किसिमको भने छैन्। 

बिस्फोट लगत्तै सामाजिक सञ्जालमा राखिएको भिडियोमा राजदूतावासको पर्खाल बाहिर धुँवा देखिएको छ, र त्यहाँ चिनियाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। 

बेइजिङ नजिकैको बाहिरी इलाकामा यो घटना भएको छ, र यस क्षेत्रमा संयुक्तराज्य अमेरिका, भारत र इजरायल समेत धेरै मुलुकका दूतावासहरु रहेका छन्। 

प्रकाशित: १० श्रावण २०७५ १०:४२ बिहीबार

अमेरिकी दूतावास अगाडि बिस्फोट