अन्तर्राष्ट्रिय

आत्मघाती आक्रमणमा उम्मेदवार नै मारिए

तस्बिर : एजेन्सी

इस्लामाबाद– बुधबार हुने आमनिर्वाचनको मुखैमा पाकिस्तानमा हिंसाको घटनामा वृद्धि भएको छ।

आसन्न निर्वाचनपछि पाकिस्तानी प्रधानमन्त्रीको दाबेदारमध्येका एक पूर्वक्रिकेटर इमरान खानको दल पाकिस्तान तेहेरिकी–ए–इन्साफ (पिटिआई)का एक उम्मेदवार आइतबार भएको आत्मघाती आक्रमणमा मारिएका छन् । उक्त आक्रमणमा चार जना घाइते भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

पाकिस्तानको उत्तरपश्चिमी राज्य खेबर पाख्तुख्वामा आयोजित चुनावी र्यालीमा गराइएको आत्मघाती बम विस्फोटन यसै महिना एक सय ४९ जना मारिने गरी भएको आत्मघाती आक्रमणपछिको सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ।

पाकिस्तान तेहेरिकी–ए–इन्साफ (पिटिआई) वा पाकिस्तान न्याय आन्दोलनका तर्फबाट अस्थायी वैधानिक संसद्का उम्मेदवार इक्रामुल्लाह गन्दापुरको गाडीलक्षित गरी आइतबारको आत्मघाती आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमण देरा इस्मेल खान सहरमा भएको चुनावी र्यालीमा गराइएको दुई जना प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।‘इक्रामुल्लाह गान्दापुर मारिएका छन् र उनको शवको पोस्ट–मर्टम गरिँदै छ,’ प्रहरी अधिकारी जाहुर अफ्रिदीले रोयटर्सलाई बताएका छन्।

घटनास्थलबाट बाहिरिएका भिडियो दृश्यमा तीन जना मानिस रगताम्य भएको देखिएको छ । त्यसैगरी बमको छर्राका कारण पूर्ण रूपमा ध्वस्त भएको कालो स्पोर्टस युटिलिटी सवारी साधनभित्र सख्त घाइते भएर अचेत भएका यात्रु देखिएका छन् । गान्दापुरका दाजु तत्कालीन प्रान्तीय कानुनमन्त्री इस्रारुल्लाहको पनि सन् २०१३ मा आफ्नै निवासमा भएको आत्घाती आक्रमणमा मृत्यु भएको थियो।

मतदानका लागि तीन दिनमात्रै समय बाँकी रहँदा पाकिस्तानका राजनीतिक दलहरु तीब्र गतिमा चुनावी प्रचारप्रसारमा व्यस्त भए पनि देशभर हिंसाका घटनामा कमी आएको छैन । बीस करोड ८० लाख जनसंख्या भएको पाकिस्तानमा मतदानको दिन नजिकिँदै गर्दा थप राजनीतिक हिंसाको डर बढिरहेको रोयटर्सले जनाएको छ । दलहरुले राजनीतिक र्यालीलाई तीब्रता दिएका छन्, जहाँ हजारौं समर्थक उपस्थित हुने गरेका छन् । यस्तै कार्यक्रमलाई लक्षित गरेर आक्रमणकारीहरुले आक्रमण गर्ने गरेका छन्।

जुलाई २५ मा हुने निर्वाचनमा दर्जनौं दल सहभागी भए पनि विशेष गरेर पिटिआई र पाकिस्तान मुस्लिम लिग–नवाजबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेता नवाज सरिफ भ्रष्टाचारको मुद्दामा जेल परे पनि दोस्रो कार्यकालका लागि जित निकाल्ने दाउमा पाकिस्तान मुस्लिम लिग–नवाज रहेको छ भने, पूर्व स्टार क्रिकेटर खानको दल पिटिआई पनि यस पटक जित निकाल्ने पक्षमा रहेको छ।

 

 

प्रकाशित: ७ श्रावण २०७५ ०६:०२ सोमबार

आत्मघाती आक्रमणमा उम्मेदवार नै मारिए