अन्तर्राष्ट्रिय

चुनावमा धाँधली गर्न हैन, सुरक्षाका लागि सेना परिचालन

इस्लामाबाद - पाकिस्तानमा जुलाई २५ मा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि करिब तीन लाख ७१ हजार सेना परिचालन गरिने पाकिस्तानी सेनाले बताएको छ।

पूर्व क्रिकेटर इमरान खानको पक्षमा निर्वाचन नतिजा पार्नका लागि सेना खटाउन लागिएको भन्ने आरोपमाथि प्रतिक्रिया दिँदै पाकिस्तानी सेनाले मंगलबार यस्तो बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आसन्न निर्वाचनमा सेनाले धाँधली गर्न लागेको आरोप राजनीतिक वृत्तमा व्यापक भएको छ।

सेनाले राजनीतिमा हस्तक्षेप गर्न खोजेको र खानको दल पाकिस्तान तेहरेक–ए–इन्साफ (पिटिआई)लाई शक्तिमा ल्याउन मिडियालाई समेत दबाब दिइएको आरोप लागेको छ । भ्रष्टाचार विरोधी र राष्ट्रिय सुरक्षाका विषयमा अति नै संर्किणवादी पूर्व क्रिकेटर खानले भने आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तानी इतिहासमा आधाजसो शासन गरेको सेनासँग समिकरण गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन्।

जुलाई २५ मा हुने निर्वाचनको बाहिरी क्षेत्र र मतदानस्थलमा कुल तीन लाख ७१ हजार तीन सय ८८ सेना परिचालन हुने पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफूरले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । यो संख्या सन् २०१३ को निर्वाचनमा परिचालन गरिएको सेनाको संख्याको तेब्बर भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘देशमा हुने निर्वाचनलाई शान्तिपूर्वक रूपमा निष्पक्ष तथा स्वतन्त्र रूपमा गराउनका लागि निर्वाचन आयोगले सेनाको सहयोग मागेकाले सेनाले सहयोग गर्न लागेको हो,’ प्रवक्ता घाफूरले बताए । ‘उनीहरुले मागेकाले सहयोग गर्नु हाम्रो कर्तव्य हो,’ राजधानी इस्लामाबाद नजिकैको रावलपिन्डीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता घाफूरले बताए ।सेनाले खानको दललाई सहयोग गरिरहेको भन्ने शंकाको प्रवक्ता घाफूरले ठाडै खारेज गरिदिएको रोयटर्सले जनाएको छ।

‘हामीसँग कुनै राजनीतिक दल छैन । हामी कुनै दलसँग वफादार छैनौं,’ उनले बताए । सरिफको दलका कार्यकर्तालाई दल बदल्न पनि सेनाले दबाब दिइरहेको भन्ने आरोपको पनि प्रवक्ता घाफूरले अस्वीकार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।भ्रष्टाचारलगायको मुद्दामा गत साता १० वर्षको जेल सजाय सुनाइएका सरिफले सेना र उसको विशेष एजेन्सीले आफ्ना नेता कार्यकर्तालाई दल छोड्न बाध्य बनाइरहेको आरोप लगाउने गरेका छन्।

छोराले सञ्चालन गरेको कम्पनीबाट प्रत्येक महिना १० हजार दिराम बराबार कमाई गरेको भन्ने आरोपबारे सफाई दिन नसकेपछि देशको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई पदमुक्त गरिदिएपछि पाकिस्तानको राजनीतिमा सैन्य उपस्थिति बढेको बताइने गरेको छ । महिनावारी रूपमा तलब बुझेको भन्ने आरोपको पूर्वप्रधानमन्त्री सरिफले भने अस्वीकार गर्दै आफूमाथिको आरोप राजनीतिप्रेरित भएको बताउने गरेका छन् । उनले यदाकदा आफूमाथिको आरोपमा सेनाको संलग्नताको पनि आशंका गर्ने गरेका छन् ।

सेनाले भने नागरिक राजनीतिमा आफ्नो संलग्नता अस्वीकार गर्ने गरे पनि सन् १९९९ मा सेनाले रक्तपातरहित ‘कू’ मार्फत् सरिफलाई पदबाट हटाएको थियो । जुलाईको निर्वाचनमा सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–एन) र पूर्व क्रिकेटर खानको दल पिटिआईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
 

प्रकाशित: २७ असार २०७५ ०३:५६ बुधबार

चुनावमा धाँधली गर्न हैन सुरक्षाका लागि सेना परिचालन