अन्तर्राष्ट्रिय

थाइल्याण्डको गुफामा फसेका सबैको उद्दार

थाइल्याण्डमा गुफामा फसेका सबै जनाको सकुशल उद्दार गरिएको छ। गुफामा १२ जना किशोर र  उनीहरुका फुटवल प्रशिक्षक एक फसेका थिए ।

जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङराईमा फुटबलको प्रशिक्षण लिइरहेका १२ देखि १७ वर्ष उमेरका १२ जना किशोर र उनीहरुका प्रशिक्षक खेल अभ्यासपछि गुफामा गएका थिए। सोही समय भारी वर्षा भएर गुफामा पानी भरिएपछि उनीहरु भित्रै थुनिएका थिए। उनीहरु जीवितै रहेको र निकै भोकाएको अवस्थामा बेलायती गोताखोरको टोलीले गुफाको एक कुनामा गतहप्ता फेला पारेको थियो।

उद्दारका क्रममा एक जना गोताखोरको ज्यान गएपनि गुफामा फसेका सबैजनाको सकुशल उद्दार गरिएको छ।

उद्दारका क्रममा गुफा भित्रको पानीको सतह घटाउने, डोरी टाँग्ने, अक्सिजन पुर्याउने, बाटो चौडा पार्ने लगायतका काम तदारुकताका साथ गरिएको थियो । आइतवारदेखि सघन रुपमा उद्दार कार्य गरिएको थियो। पहिलो दिन ४ जना, दोस्रो दिन ४ जना र आज अन्तिम दिन बाँकी किशोर र प्रशिक्षकको सकुशल उद्दार गरिएको हो।

उद्दारपछि उनीहरुलाई स्थानीय अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरिएको छ।

प्रकाशित: २६ असार २०७५ १२:४३ मंगलबार

थाइल्याण्डको गुफामा फसेका सबैको उद्दार