अन्तर्राष्ट्रिय

मदर टेरेसाको भारतीय च्यारिटीद्वारा ‘शिशु बिक्री’

तस्विर : एजेन्सी

नयाँ दिल्ली– १४ दिनको शिशु बिक्री गरेको आरोपमा भारतको उत्तरी राज्य झारखण्डस्थित मदर टेरेसा मिसिनरिज अफ च्यारिटीमा कार्यरत एक महिला पक्राउ परेकी छन्।

शिशु बिक्री गरेको आरोपमा च्यारिटीको केन्द्रमा काम गरिरहेका अन्य दुई महिलालाई पनि पक्राउ गरिएको र बालबालिकाको बिक्रीबारेको सम्भावित अन्य घटनाबारे सोधपुछ भइरहेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

झारखण्ड राज्यको बाल कल्याण समितिले मदर टेरेसा मिसिनरिज अफ च्यारिटीमा कार्यरत महिलाले शिशु बिक्री गरेकोबारे उजुरी दर्ता गरेपछि प्रहरीले यस विषयमा कारबाही अगाडि बढाएको बिबिसीले उल्लेख गरेको छ ।
शिशु बिक्री गरेको अभियोगमा कर्मचारी पक्राउ परेपछि बुझ्न खोज्दा च्यारिटीले प्रतिक्रिया दिन अस्वीकार गरेको बिबिसीले बताएको छ ।

‘च्यारिटी केन्द्रबाट अन्य शिशु पनि गैरकानुनी रूपमा बेचिएको हामीले पत्ता लगाएका छौं,’ झारखण्डका एक प्रहरी अधिकारीले बिबिसी हिन्दीलाई बताए । ‘त्यसरी बिक्री भएका आमाहरुको नाम हामीले प्राप्त गरेका छौं र त्यसबारेमा विस्तृत अनुसन्धान भइरहेको छ,’ ती प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।झारखण्ड राज्यको राजधानी राँचीमा रहेको मदर टेरेसा मिसिनरिज अफ च्यारिटीबाट एक लाख ४० हजार भारतीय रुपैयाँ बरमादसमेत गरिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

नोबेल पुरस्कार विजेता मदर टेरेसा जसको सन् १९९७ मा मृत्यु भएको थियो उनले सन् १९५० मा मिसिनरिज अफ च्यारिटीको स्थापना गरेकी थिइन् । भगिनी संस्थाको विश्वभर तीस हजारभन्दा बढी सिस्टर रहेका छन् । मदर टेरेसाले मरणासन्न मानिसका लागि अस्पताल, सुप किचेन, विद्यालयसहित अभिभावकले छोडेका शिशुका लागि स्याहार केन्द्रको स्थापना सञ्चालन गरेकी थिइन् । उनले स्थापना गरेको मिसिनरिज अफ च्यारिटीले अविवाहित गर्भवती महिलाका लागि पनि केन्द्र सञ्चालन गर्ने गरे पनि हाल भने गर्भपतनको व्यवस्था भने गर्ने नगरेको बिबिसीले जनाएको छ ।

प्रकाशित: २२ असार २०७५ ०३:५२ शुक्रबार

मदर टेरेसाको भारतीय च्यारिटीद्वारा शिशु बिक्री