अन्तर्राष्ट्रिय

यमनमा तीन वर्षमा २२ सय बालबालिका मारिए : युनिसेफ

जेनेभा-  यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।

संयुक्त राष्ट्रसंघीय निकायले  सार्वजनिक गरेको प्रतिवेदनमा तीन वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ ।द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको प्रतिवेदनमा जनाइएको छ।

“अहिले चलिरहेको द्वन्द्वका कारण यमनका बालबालिकामा परेको असरले मुलुकलाई नै नराम्रो अवस्थातर्फ धकेलेको छ,” राष्ट्रसंघअन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले भने । द्वन्द्वग्रस्त मुलुकको स्थलगत अवलोकन गरी उनी हालै मात्र जेनेभा फर्किएका हुन्।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएका लडाइँमा परी यमनमा तीन वर्षमा झण्डै दश हजार जना मारिएका छन् । यमनमा सन् २०१५ देखि यो द्वन्द्व शुरु भएको हो।द्वन्द्वका क्रममा ३४ हजार बालबालिका घाइते भएको पनि राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

“यो त हामीले पहिचान गर्न र भेट्टाउन सकिएको तथ्यांक मात्रै हो, मृत्यु हुने, घाइते हुने र पीडित हुने बालबालिकाको वास्तविक संख्या योभन्दा पनि बढी हुन सक्छ,” युनिसेफका कार्यकारी निर्देशकले भने।यति धेरै मान्छे मारिएको, घाइते भएको र प्रभावित भएको द्वन्द्वको अहिलेसम्म कुनै औचित्य नदेखिएको पनि उनले बताए।

द्वन्द्वका कारण धेरै बालबालिका विद्यालय जान नसकेको विषयमा पनि उनले सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहेको पत्रकारहरूलाई जानकारी दिए ।बालबालिका भोकमरीसँगै झाडापखालाजस्ता विभिन्न रोगको प्रकोपमा परेर दयनीय अवस्थामा रहेको पनि युनिसेफले जनाएको छ।रासस

 

प्रकाशित: २० असार २०७५ ०६:०५ बुधबार

यमनमा वर्षमा २२ बालबालिका मारिए युनिसेफ