अन्तर्राष्ट्रिय

बम राख्ने तयारी गरेको आरोपमा कूटनीतिज्ञ पक्राउ

ब्रसेल्स– निर्वासनमा रहेका इरानी विपक्षी समूहको फ्रान्समा हुन लागेको बैठकमा बम राख्ने तयारी गरेको भन्दै एक जना इरानी कूटनीतिज्ञसहित अन्य दुई संदिग्ध पक्राउ परेको बेल्जियम प्रशासनले सोमबार बताएको छ।

पेरिस आधारित नेसनल काउन्सिल अफ रेसिस्टेन्स अफ इरान (एनसिआरआई) को आसन्न बैठकमा सहभागी हुने कैयौं अन्तर्राष्ट्रिय नेताहरुमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ता रुडी गियुलानीसहित युरोप र अरबका कैयौं पूर्वमन्त्रीहरुसमेत रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

सजिलै पाउने रासायनिक पदार्थबाट बनेको घरेलु विस्फोटक पदार्थ, पाँच सय ग्राम टिएटिपीसहित दुई संदिग्धलाई शनिबार बेल्जियम प्रहरीले पक्राउ गरेको बेल्जियम प्रहरी र अनुसन्धान विभागले संयुक्त रूपमा जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ३८ वर्षीय अमिर एस र ३३ वर्षकी नासिमेह एन नाम गरेका ती संदिग्धलाई आतंकवादी हत्याको प्रयास र आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बेल्जियम मुद्दासँग सम्बन्धित रहेका संदिग्धहरुलाई फ्रान्स र जर्मनीमा पक्राउ गरिएको बताइएको छ । जर्मनीमा पक्राउ परेका व्यक्ति अस्ट्रियाको राजधानी भियनास्थित इरानी दूतावासको कूटनीतिज्ञ भएको बेल्जियमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बेल्जियमले जारी गरेको विज्ञप्तिमा ती कूटनीतिज्ञबारे विस्तृत विवरण भने उपलब्ध नगराइएको रोयटर्सले जनाएको छ । यसअघि बेल्जियममा पक्राउ परेका दुई संदिग्धसँग ती कूटनीतिज्ञको सम्बन्ध रहेको भने विज्ञप्तिमा जनाइएको छ । फ्रान्समा पक्राउ परेका चौथा व्यक्तिका बारेमा भने बेल्जियमले केही नबताएको रोयटर्सले जनाएको छ ।

प्रकाशित: १९ असार २०७५ ०२:४५ मंगलबार

बम राख्ने तयारी गरेको आरोपमा कूटनीतिज्ञ पक्राउ