अन्तर्राष्ट्रिय

विश्रका प्रमुख राष्ट्र र संगठनद्वारा स्वागत

प्रजातान्त्रिक जनगणतन्त्र उत्तर कोरिया–संयुक्त राज्य अमेरिकाबीच भएको ऐतिहासिक बैठकअघि हात मिलाउँदै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन (बायाँ) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर :एजेन्सी

सिंगापुर– वर्तमान अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक मंगलबार सिंगापुरमा शिखर बैठक सम्पन्न भएको छ ।दुई परम्परागत शत्रु राष्ट्र अमेरिका र उत्तर कोरियाबीचको मंगलबारको बैठकमा भएको चार बुँदे सहमतिलाई लिएर विश्वको ध्यान केन्द्रित भएको छ ।

चार बुँदे सहमतिमा ठोस विषय नभएको भन्दै कतिपय आलोचकले आलोचना गरे पनि विश्व मामिलाका जानकारले भने सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धपछि विकसित अमेरिका–उत्तर कोरियाको सम्बन्धलाई सुखद् रूपमा लिनुपर्ने तर्क अघि सारेका छन् । ट्रम्प–किमबीच सिंगापुरको सेन्टोसा प्रान्तस्थित क्यापेल्ला रिसोर्टमा मंगलबार भएको शिखर बैठकलाई लिएर विश्वभरबाट स्वागत भएका छन् ।
नाटोद्वारा स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठकको उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)ले स्वागत गरेको छ । ‘कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेबारे हुने कुनै पनि घटनालाई नाटो स्वागत गर्दछ,’ नाटोका प्रमुखले विज्ञप्तिमार्फत बताएका छन्।

‘जुनसुकै भूमिका खेल्न तयार’

उत्तर कोरियामा प्रमाणिकरणको कुनै पनि भूमिका खेल्न तयार रहेको संयुक्त राष्ट्रसंघीय आणविक वाचडगले बताएको छ ।
मंगलबार सिंगापुरमा सम्पन्न भएको अमेरिका–उत्तर कोरियाबीचको पहिलो ऐतिहासिक शिखर बैठकपछि राष्ट्रसंघीय आणविक वाचडगको यस्तो धारणा बाहिरिए पनि वासिङ्टन र प्योङयाङबीच हुने आगामी बैठकमा यस विषय निर्भर रहने समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनले आफूसँग कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेबारे सहमति गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएपछि राष्ट्रसंघीय नियोग अन्तर्राष्ट्रिय एटोमिक इनर्जी एजेन्सी (आइएइए)ले उत्तर कोरियाको कुनै पनि आणविक हतियार प्रमाणिकरण तथा निःशस्त्रीकरणमा सहयोग गर्न आफू तयार रहेको बताएको हो ।‘अमेरिका–उत्तर कोरियाबीचको शिखर बैठकको उपलब्धीलाई लागू गर्न दुई देशबीच हुने सबै वार्तालाई आइएइएले नजिकबाट नियाल्ने छ,’ आइएइएका प्रमुख युकिया अमानोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘कोरियाली प्रतिबद्धताको ठूलो अर्थ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच भएको वार्तामा कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेबारे उत्तर कोरियाले गरेको प्रतिबद्धतालाई उत्तरसँग सधैं समस्या खेपिरहेको जापानी प्रधानमन्त्री सिन्जो आबेले प्रशंसा गर्दै त्यसले ठूलो अर्थ राख्ने बताएका छन् ।

‘कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेबारे अध्यक्ष किमले राष्ट्रपति ट्रम्पसमक्ष गरेको प्रतिबद्धताको निक्र्कै ठूलो अर्थ रहेको छ,’ अमेरिका–उत्तर कोरियाबीचको ऐतिहासिक शिखर बैठकपछि अमेरिकी राष्ट्रपतिसमक्ष बोलेपछि प्रधानमन्त्री आबेले पत्रकारलाई बताए । उत्तर कोरियाले अपहरण गरेको जापानी नागरिकलाई रिहा गर्नेबारे अमेरिकाको बलियो समर्थनको आवश्यकता रहेकोमा समेत आबेले जोड दिएको आबेलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
ट्रम्प र मुनबीच फोनवार्ता

अमेरिका–उत्तर कोरियाबीच ऐतिहासिक शिखर बैठक गराउन प्रमुख भूमिका खेलेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता भएको छ ।एयर फोर्स वानबाट अमेरिकी राष्ट्रपति ट्रम्पले मुनलाई फोन गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ ।‘कोरियाली प्रायद्वीपमा मात्रै नभई समग्र विश्वमा शान्ति स्थापनार्थ उत्तर कोरिया–अमेरिका बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले ठूलो सफलता हासिल गरेको राष्ट्रपति मुनले बताएका छन्,’ राष्ट्रपति कार्यालय ब्लू हाउसलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।
 

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०२:५८ बुधबार

विश्रका प्रमुख राष्ट्र संगठनद्वारा स्वागत