अन्तर्राष्ट्रिय

वार्ताका लागि कतारका विदेशमन्त्रीको आह्वान

दोहा– साउदी अरबलगायतका छिमेकीले आफूविरुद्ध लगाएको नाकाबन्दीको एक वर्ष पुगेको दिन कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लाह रहमान अल थानीले मंगलबार वार्ताको आह्वान गरेका छन्।

विदेशमन्त्री थानीले कतार जहिले पनि छिमेकीसँग शान्तिपूर्ण रूपमा वार्ता गर्न तयार रहेको भन्दै वार्ताका लागि आह्वान गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । छिमेकी देशसँग वार्ताको लागि कतारले जहिले पनि ढोका खुल्ला राखेको थानीले ट्विट गरेका छन् । ‘हामीले कहिल्यै पनि वार्तालाई इन्कार गरेका छैनौं र अहिले पनि जुनसुकै समयमा वार्ता गर्न तयार छौं,’ थानीले ट्विट गरेका छन् । वार्तामार्फत् कतार संकट समाधानका लागि यसअघि कुवेतले प्रयास गरे पनि सार्थक भएको थिएन ।

गत सेप्टेम्बर महिनामा पनि वार्ताका लागि कुवेत र अमेरिकाले मध्यस्थताको प्रयास गरेका थिए तर त्यो समयमा कतार र साउदी अरबलगायतका खाडी राष्ट्रबीच वार्ता हुन सकेको थिएन । त्यसपछि वार्ताका लागि खासै प्रभावकारी पहल नभएको बताइएको छ ।सन् २०१८ को अप्रिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरेका थिए ।

कतारमाथि गरिएको नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भएको थियो । राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान गरेको छ तर आह्वान बमोजिम वार्ता हुन भने सकिरहेको छैन । कतारविद्धको नाकाबन्दी मानवीय संकट भएको भन्दै धेरै देशले विरोध गरेका छन् । नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकतामाथि धावा बोलेको भन्दै कतारले संयुक्त राष्ट्रसंघमा उजुरी पनि दिएको थियो । तर पनि यस संकटको समाधानमा कतारमाथि नाकाबन्दी लगाउने छिमेकी देशले कुनै पहल नगरेको एएफपीले जनाएको छ ।
कतार थप मजबुत

छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको विदेशमन्त्री थानीले बताएका छन् ।

यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रूपमा कतारविरुद्धको नाकाबन्दीलाई हेरिएको छ । यसबीचमा उसलाई छिमेकीले सबै कूटनीतिक सम्बन्ध तोड्नुका साथै हवाई र स्थलमार्गबाट सामान आयात–निर्यातमा पनि प्रतिबन्ध लगाएका थिए ।

‘नाकाबन्दीको क्रम अहिले पनि जारी नै छ हाम्रो आन्तरिक बल, सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा कुनै पनि कमी आएको छैन,’ कतार संकटको वर्षदिनको दिन विदेशमन्त्री थानीले मंगलबार बताएका छन् । कतारमाथि भएको नाकाबन्दीमा साउदी अरबलाई बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेटस् (युएइ)ले साथ दिँदै आएका छन् । ‘कतारमाथि काल्पनिक रूपमा दोषारोपण गरिएको आज वर्ष दिन पुगेको छ तर पनि यहाँका नागरिक थाकेका वा गलेका छैनन् बरु थप सशक्त बनेका छन्,’ विदेशमन्त्री थानीले जुन ५ को स्मरण गर्दै आफ्नो ट्विटर अकाउन्टमा मंगलबार ट्विट गरेका छन् ।

साउदीलगातयतका देशले कतारमाथि उसले ‘आतंकवाद’लाई सहयोग पुर्याएको आरोप लगाउँदै आएका छन् । त्यसैगरी कतारविरुद्ध इरानसँग आवश्यकभन्दा पनि बढी मात्रामा नजिकिएर काम गरेको आरोप अन्य खाडी छिमेकी देशको रहेको छ । कतारले भने आफूमाथिको आरोप अस्वीकार र खण्डन गर्दै आइरहेको छ ।साउदीलगायतका राष्ट्रले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द गरेका छन् भने हवाई सेवा पनि बन्द गरेका छन् । कतारका हवाई जहाज अरु देशको आकासमा उड्न प्रतिबन्ध लगाइएको छ भने अरु देशले पनि कतारको आकासमा उडाएका छैनन् ।

त्यसैगरी पछिल्लो समय साउदी अरबलगायतका देशमा बसिरहेका कतारका नागरिकलाई निकालासमेत गरिएको छ । साउदी अरबले कतारको अलजजिरा टेलिभिजन च्यानलको रियादस्थित ब्युरो कार्यालय पनि बन्द गरिदिएको छ । साउदी अरबलगायतका देशले अल जजिरा च्यानल बन्द गर्नुपर्ने माग पनि गरिरहेका छन् । त्यसैगरी इरानसँगको सम्बन्धलाई महत्व दिन नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्नेलगायतका सर्त पनि ती देशले राख्दै आएका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०२:०१ बिहीबार

वार्ताका लागि कतारका विदेशमन्त्रीको आह्वान