अन्तर्राष्ट्रिय

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रभावकारी भएकाे भनाइ

किन्सासा – अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन्। 

कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएको  जनाइएको छ। 

कंगोको झण्डै १० लाख जनसंख्याको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नियन्त्रणका पहल प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरेको थियो। 

कंगोमा देखिएको यस सङ्क्रमणमा परी करिब ३० जनाले ज्यान गुमाएका थिए। 

परीक्षणको लागि चार हजार इबोलाको खोप त्यहाँ पुर्‍याइएको छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार यहाँका अधिकारीले गरेका कार्यका कारण यसको प्रभाव राम्रो देखिएको छ। 

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको थियो। 

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ। त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप त्यहाँ पुर्‍याइएको छ। 

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीको भनाइ रहेको छ। 

पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो। यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो। 

प्रकाशित: ११ जेष्ठ २०७५ १०:४८ शुक्रबार

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रभावकारी भएकाे भनाइ