अन्तर्राष्ट्रिय

‘रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे’

लन्डन – रोहिन्जा मुसलमान लडाकुले म्यानमारमा गएको अगस्ट महिनामा गरेको आक्रमणमा दर्जनौं हिन्दूको हत्या गरेको एम्नेस्टी इन्टरनेसनले गरेको अनुसन्धानमा उल्लेख गरिएको छ।

रोहिन्जा मुसलमान लडाकु समूह ‘अर्सा’ले सम्भवतः एउटा वा दुईवटा नरसंहारमार्फत् ९९ हिन्दूको हत्या गरेको एम्नेस्टी इन्टरनेसनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । एम्नेस्टी इन्टरनेसनले अर्साले हिन्दू धर्मावलम्बीको नरसंहार गरेको विवरण सार्वजनिक गरेपछि उक्त विद्रोही समूहले भने त्यस्तो कार्यमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । गत अगस्ट महिनामा अल्पसंख्य रोहिन्जा मुसलमानमाथि म्यानमाली फौजले अत्याचार गरेको आरोप बढिरहेकै समयमा ती हिन्दूहरुको हत्या भएको बिबिसीले जनाएको छ ।

म्यानमारको पूर्वी रखाइन राज्यमा गत अगस्टमा फैलिएको हिंसाका कारण हालसम्म सात लाखभन्दा बढी रोहिन्जा ज्यान जोगाउन भागेर छिमेकी बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरमा पुगेका छन् । रखाइन राज्यमा फैलिएको हिंसाका कारण रोहिन्जा मुसलमानबाहेक बहुसंख्यक बौद्ध धर्मावलम्बी र अल्पसंख्य हिन्दू धर्मावलम्बी पनि विस्थापित भएको बिबिसीले उल्लेख गरेको छ ।

बंगलादेशी शरणार्थी शिविर र म्यानमारको हिंसा प्रभावित रखाइन राज्यमा गरिएको विभिन्न अन्तर्वार्ताबाट विद्रोही अराकन रोहिन्जा साल्भेसन आर्मी (अर्सा)ले अगस्ट महिनाको अन्त्यतिर गरेको प्रहरी चौकी आक्रमणकै समयमा उत्तरी मौङड उपनगरका विभिन्न गाउँमा हिन्दूहरुको सामूहिक हत्या गरेको प्रमाणित भएको एम्नेस्टी इन्टरनेसनलले बताएको छ । एम्नेस्टीको अनुसन्धानले रखाइनका अन्य क्षेत्रमा सर्वसाधारणमाथि भएको सानो मात्राका हिंसामा अर्सा नै जिम्मेवार रहेको समेत बताएको छ ।एम्नेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा अह नौक खा मौङ सिक नामक हिन्दू गाउँमा गत अगस्ट २५ मा अर्साका सदस्यले कसरी आक्रमण गरे भन्नेबारे पनि विस्तृत रूपमा देखाएको छ ।

‘अमानवीय तथा कठोर कार्यअन्तर्गत पर्ने घटनामा अर्साका सदस्यले कैयौं हिन्दू महिला, पुरुष र बालबालिकालाई उनीहरुकै गाउँबाहिर घाँटी रेटेर हत्या गर्नुपूर्व नियन्त्रणमा लिँदै आतंकित पारेका थिए,’ एम्नेस्टीले जारी गरेको प्रतिवेदन उद्धृत गर्दै बिबिसीले जनाएको छ । उक्त घटनामा बाँचेका हिन्दू नागरिकले आफूहरुले आफ्ना आफन्त मारिएको वा उनीहरु पीडाले कराएको सुनेको एम्नेस्टीसमक्ष बताएका छन्।

‘उनीहरुले हिन्दू पुरुषको घाँटी रेटेर हत्या गरे । त्यो गर्दा हामीलाई त्यता नहेर्न भनियो । उनीहरुसँग चक्कु थियो । उनीहरुसँग केही कोदालो र फलामका रडसमेत थिए । हामी झाडीमा लुक्यौं र त्यहाँबाट हामीले अलिकतिमात्रै देख्यौं । मेरो काका, बुवा र मेरो भाइ सबैको घाँटी रेटेर हत्या गरियो,’ अह नौक खा मौङ सिक गाउँकी एक महिलाले एम्नेस्टीलाई दिएको अन्तर्वार्ता उद्धृत गर्दै बिबिसीले जनाएको छ । अर्सा लडाकुमाथि २० पुरुष, १० महिला र २३ बालबालिकाको हत्या गरेको आरोप लागेको छ । मारिने २३ बालबालिकामध्ये १४ जना आठ वर्षभन्दा कम उमेरको भएको एम्नेस्टीको प्रतिवेदन उद्धृत गर्दै बिबिसीले जनाएको छ।

एम्नेस्टीका अनुसार त्यसरी मारिएकामध्ये ४५ जनाको गत सेप्टेम्बर महिनामा चारवटा विशाल चिहान बनाएर लाश गाडिएको थियो । बाँकी रहेका अन्यको लाश र छिमेकी गाउँ यी बौक क्यारका ४६ जनाको शव अझै नपाइएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख गरिएको बिबिसीले जनाएको छ ।एम्नेस्टीको प्रतिवदेनअनुसार यी बौक क्यार गाउँमा पनि सोही दिन नै अनुमानित ९९ हिन्दू पुरुष, महिला र बालबालिकाको हत्या गरिएको थियो ।
 

प्रकाशित: १० जेष्ठ २०७५ ०२:३५ बिहीबार

रोहिन्जा विद्रोहीले हिन्दूको नरसंहार गरे