अन्तर्राष्ट्रिय

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा

नयाँदिल्ली- भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ। 

“केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,” केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीटमा लेखेका छन्।

उनले यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु-याउने विश्वास लिइएको बताएका छन्। सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गरेका छन्। 

भारत नियन्त्रित काश्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेकी छिन्। यस्ता निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन्।

काश्मिरमा गत सन् १९८९ देखि भारत र पाकिस्तान बीच लडाई भइरहेको छ। 

प्रकाशित: २ जेष्ठ २०७५ १६:१३ बुधबार

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम घोषणा