अन्तर्राष्ट्रिय

बाढीले दक्षिणी श्रीलंकामा आठ हजार स्थानीय प्रभावित

कोलम्बो – श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ। 

यहाँको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार जारी एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ। 

प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको थियो भनेका छन्। 

ती क्षेत्रमा बाढीको प्रकोप बढ्नसक्ने अनुमानका कारण उनीहरुलाई सुरक्षित स्थानमा सारिएको पनि उनले बताए। 

शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ। तर पनि सोमबार बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ। यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ। 

श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा आएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित: ३१ वैशाख २०७५ १०:३४ सोमबार

बाढीले दक्षिणी श्रीलंकामा स्थानीय प्रभावित