इजरायलले युद्धविराम भंग गर्दै गाजामा ठूलो सैन्य आक्रमण सुरु गरेको छ। अल जजिराका अनुसार यस आक्रमणमा कम्तीमा ३४२ प्यालेस्टिनीको ज्यान गएको छ। यो आक्रमणपछि हमाससँग दुई महिनाअघि भएको युद्धविराम समाप्त भयो।
मंगलबार गाजाको खान युनिस र रफाह, उत्तरी गाजा र मध्य क्षेत्रको देइर अल–बलाहसहितका क्षेत्रमा आक्रमण गरिएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मारिएकामध्ये अधिकांश बालबालिका छन्। हमासले यसलाई जनवरी १९ को युद्धविरामको एकतर्फी उल्लंघन भनेको छ।
‘नेतान्याहूको सरकारले युद्धविराम उल्टाएर बन्दीहरूलाई अनिश्चिततातर्फ धकेलेको छ,’ हमासले विज्ञप्तिमा उल्लेख गरेको छ। हमासले अरब, इस्लामिक राष्ट्र र विश्वका स्वतन्त्र जनतालाई विरोधमा उत्रन अनुराेध गरेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्दी रिहाइको प्रस्ताव अस्वीकार गरेकाे भन्दै हमासविरुद्ध कडा कारबाहीको निर्देशन दिएका छन्। ‘इजरायलले अब हमासविरुद्ध बढ्दो सैन्य शक्ति प्रयोग गर्नेछ,’ प्रधानमन्त्री कार्यालयले जनाएको छ।
इजरायली सेनाले हमासमाथि व्यापक आक्रमण गरिरहेको बताएको छ। ह्वाइट हाउसले इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग परामर्श गरेको जनाएको छ। इजरायल रक्षा बल (आईडीएफ) ले सबै बन्दी रिहाइसहितका युद्ध लक्ष्य पूरा गर्न आक्रमण थालेको भनेको छ।
‘हमासले बन्दी रिहाइ र मध्यस्थकर्ताका प्रस्ताव अस्वीकार गरेपछि यो कदम चालिएको हो,’ रक्षामन्त्री इजरायल काट्जले भने। ‘सबै बन्दी घर नफर्केसम्म र युद्धका लक्ष्य पूरा नभएसम्म लडाइँ रोकिँदैन,’ उनले थपे। आक्रमण आवश्यक परेसम्म जारी रहने र हवाई आक्रमणभन्दा बाहिर पनि विस्तार हुने बताइएको छ।
प्रकाशित: ५ चैत्र २०८१ १३:१५ मंगलबार