अन्तर्राष्ट्रिय

युक्रेनलाई अमेरिकी सैन्य सहायता खुला, युद्ध ३० दिन ‘विराम’ !

अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहायता र खुफिया सूचना पुनः फुकुवा गरेको छ। यो निर्णय युक्रेनले रूससँग ३० युद्ध दिनका लागि रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेपछि आएको हो।

मंगलबार साउदी अरेबियाको जेड्डामा अमेरिका र युक्रेनबीच भएको वार्तापछि अमेरिकी प्रशासनले सहायता रोक्ने निर्णय फिर्ता लिएको छ।

यसअघि फेब्रुअरी २८ मा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएपछि अमेरिकाले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता र खुफिया सहयोग रोकेको थियो।

अमेरिकी प्रतिबन्धका कारण युक्रेनलाई दिन लागिएको एक अर्ब डलरभन्दा बढीको हतियार प्रभावित भएको थियो। ट्रम्पको आदेशपछि युक्रेनलाई दिइने आर्थिक सहायता पनि रोकिएको थियो, जसले युक्रेनलाई अमेरिकी हतियार उत्पादकहरूबाट सैन्य सामग्री खरिद गर्न कठिन बनाएको थियो।

अमेरिकाले यसअघि युद्ध रोक्नका लागि युक्रेनले रूससँग वार्ता गर्नुपर्ने शर्त राखेको थियो। मंगलबारको वार्तामा युक्रेनले अमेरिकी प्रस्ताव मान्दै ३० दिनका लागि युद्ध रोक्ने सहमति जनाएपछि ट्रम्प प्रशासनले सहायता फुकुवा गर्ने निर्णय गरेको हो।

यद्यपि, अमेरिका र युक्रेन दुवैले युद्धविराम लागू हुन रूसले पनि सहमति जनाउनुपर्ने स्पष्ट पारेका छन्।

ट्रम्प–पुटिन वार्ता र युरोपेली असन्तोष

अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १२ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेपछि साउदी अरेबियामा अमेरिका–रूस वार्ता भएको थियो। फेब्रुअरी १८ मा रियादमा भएको उक्त वार्तामा युक्रेन र युरोपेली देशका प्रतिनिधि थिएनन्।

युक्रेनलाई समेट्नुपर्ने युरोपेली देशहरूको माग थियो। तर फेब्रुअरी २८ मा ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएपछि वार्ताले कुनै प्रगति लिन सकेन। त्यसको प्रतिक्रियास्वरूप ट्रम्पले युक्रेनलाई दिइरहेको सैन्य सहायता र खुफिया सूचना रोकेका थिए।

बेलायत, फ्रान्सलगायतका युरोपेली राष्ट्रहरूले अमेरिकालाई वार्तामा पुनः सहभागी गराउन दबाब दिएपछि मात्रै ट्रम्पले युक्रेनसँग पुनः वार्ता गर्न सहमति जनाएका थिए।

ट्रम्पले सहायता रोकेपछि युक्रेनलाई दिइरहेका एफ-१६ लडाकू विमानहरूको प्राविधिक सहायता पनि बन्द गरिएको थियो। युरोपेली देशहरूले अमेरिकी अनुमति लिएर ती विमान युक्रेनलाई दिएका थिए। तर ट्रम्पले एकलौटी निर्णय लिँदै ती विमान सञ्चालन गर्न आवश्यक सहयोग रोकेका थिए।

युरोपमा अमेरिकी हतियारको विश्वसनीयतामाथि प्रश्न उठ्दै जाँदा कतिपय देशहरूले भविष्यमा अमेरिकी लडाकू विमान खरिद नगर्ने सम्भावना व्यक्त गरेका छन्। ट्रम्प प्रशासनको कदमले अमेरिकी हतियार उद्योगलाई समेत असर पर्ने देखिएको छ।

युरोपेली देशहरूले आगामी दशकमा आफ्नो रक्षा खर्च बढाउने घोषणा गरेका छन्। सामान्य अवस्थामा यो रकम अमेरिकी हतियार खरिदमा खर्च हुने थियो, तर हाल अमेरिकी विश्वसनीयतामाथि उठेका प्रश्नका कारण युरोपमा स्वदेशी हतियार उद्योग प्रवर्द्धन गर्ने प्रवृत्ति बढ्न थालेको छ।

यही कारण अमेरिकी हतियार उद्योगमा गिरावट आउन नदिन पनि ट्रम्प प्रशासनले युक्रेनलाई सैन्य सहायता रोक्ने निर्णय फिर्ता लिएको हुन सक्ने विश्लेषकहरूको अनुमान छ।

प्रकाशित: २८ फाल्गुन २०८१ १६:०२ बुधबार