अन्तर्राष्ट्रिय

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

सोल- दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ। 

राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको छ। उनले भनेका छन्, “उत्तर कोरियाको निर्णय कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने बिषयमा भएको सार्थक प्रगति हो । यो सम्पूर्ण विश्व समुदायको चाहाना थियो।” 

“यसले अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीच निकट भविष्यमा हुने भनिएको निशस्त्रीकरणको कदमका लागि सकारात्मक सन्देश दिनेछ, ” यूले भने। दक्षिण कोरियाले अन्तर कोरियाली शिखर सम्मेलनमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रीकरण र स्थायी शान्ति स्थापना गराउनका लागि सक्दो प्रयास गर्नेछ, उनले भनेका छन्। 

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयको यो भनाई उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणापछि आएको हो। 

पार्टीको बैठक शुक्रबार भएको थियो तर बैठकको निर्णयलाई कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार बाहिर ल्याएको हो। उत्तर कोरियाली उच्च नेता किम जङ अनले वर्कर्स पार्टी अफ कोरियाको सातौ केन्द्रीय समितिको तेस्रो बिस्तृत बैठकका अवसरमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता नदिने घोषणा शुक्रबार गरेका थिए। 

पार्टीको शुक्रबार बसेको बैठकका अवसरमा नेता किमले उक्त घोषणा गरेकाे कोरियाली केन्द्रीय न्यूज एजेन्सीले शनिबार जनाएको छ। 

किमको घोषणा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँग कोरियाली सीमाक्षेत्रमा रहेको पानमुनजोम गाउँमा हुने पहिलो शिखर सम्मेलनको समयभन्दा ठीक एक हप्ता अगाडी आएको छ। 

प्रकाशित: ८ वैशाख २०७५ १६:३५ शनिबार

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा अर्थपूर्ण प्रगति को सङ्केत सोल