अन्तर्राष्ट्रिय

हमासको घोषणापछि ट्रम्पको समर्थनमा नेतान्याहूले दिए फेरि युद्ध सुरु गर्ने धम्की

हमासले बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजामा युद्ध सुरु गर्ने धम्की दिएका छन्। नेतान्याहूले भने, ‘यदि हमासले शनिबारसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने, हामी गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाईं सुरु गर्नेछौँ।’

नेतान्याहूले इजरायली सेनालाई गाजा र वरपर जम्मा हुन निर्देश दिएको बीबीसीले लेखेको छ। हमासले बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि उनले यो कदम चालेका हुन्। नेतान्याहूले शनिबारसम्ममा बाँकी सबै ७६ बन्धकहरूको रिहाइको बारेमा कुरा गरेका हुन् वा ती तीन जनाको बारेमा भन्ने कुरा स्पष्ट पारेनन्। तर एक मन्त्रीका अनुसार उनको अर्थ सबैजना भन्ने हो।

यसअघि हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धक रिहाइ रोकेको जनाएको थियो। युद्धविराम सम्झौता उल्लङ्घनको दाबीलाई इजरायलले अस्वीकार गरेको छ।

त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यदि हमासले बन्धक बनाइएका सबै नागरिकहरूलाई शनिबारसम्म रिहा नगरे इजरायलले युद्धविराम सम्झौता अन्त्य गर्नसक्छ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। जवाफमा हमासले सम्झौता कार्यान्वयनमा इजरायलमाथि दबाब बनाउनुपर्ने भनेको थियो। हमासले ट्रम्पको धम्कीको कुनै अर्थ नभएको भनेको छ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो। हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ। बदलामा, इजरायलले ५६६ प्यालेस्टाइनीलाई रिहा गरेको छ।

प्रकाशित: ३० माघ २०८१ ०८:४४ बुधबार

#NagarikNews #Gaza War