अन्तर्राष्ट्रिय

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, २९ घाइते

नयाँदिल्ली- वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। 

मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो। गएराति भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन्, एक अधिकारीले भने। 

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ, घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन्।

सरकारी अधिकारीहरुले उद्धार कार्य सम्पन्न भएको जनाएका छन्। मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गरे।  दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।

भारतमा यस्ता दुर्घटनाका घटना धेरै हुने गरेको र दुर्घटनाका कारण सयौँको मृत्यु हुने गरेको छ। भारत अत्यधिक मात्रामा सवारी दुर्घटना हुने देशहरुमध्येमा अग्रस्थानमा पर्छ। 

प्रकाशित: ५ वैशाख २०७५ ११:२७ बुधबार

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु २९ घाइते