अन्तर्राष्ट्रिय

प्रमाण लुकाउन खोजेको आरोप अस्वीकार

विद्रोहीको नियन्त्रणमा रहेको राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटाको अन्तिम क्षेत्र दोमालाई उनीहरुको नियन्त्रणबाट पूर्ण रूपमा फिर्ता लिएको सिरियाली सेनाले शनिबार घोषणा गरेपछि आइतबार समान्य जीवनमा फर्किएका उक्त क्षेत्रका सिरियाली नागरिक । तस्बिर : एजेन्स

मस्को–सिरियामा रासायनिक हमला भएको शंकास्पद क्षेत्रमा रहेको प्रमाणलाई रुसले हस्तक्षेप गरिरहेको भन्ने आरोप मस्कोले अस्वीकार गरेको छ।

बिबिसीको ‘हार्डटक’ नामक एउटा कार्यक्रममा अन्तर्वार्ता दिँदै रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भने,‘रासायनिक हमला भएको भनिएको क्षेत्रमा रुसले कुनै हस्तक्षेप नगरेको विषय म ग्यारेन्टी गर्न सक्छु।’

विदेशमन्त्री लाभरोभले रासायनिक हमला भए नभएको बारे अनुसन्धान गर्ने निकाय ‘अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स’ (ओपिसिडब्लू)ले आयोजना गरेको आपतकालीन बैठकमा पनि दोमा सहरमा रहेको प्रमाणलाई रुसले केही हस्तक्षेप नगरेको बताएका छन्।

सिरियाली राष्ट्रपति बसर अल–असाद नेतृत्वको सरकारी सेनाले दोमा सहरमा रासायनिक हमला गरे वा नगरेको बारे अनुसन्धान गर्ने सिरिया पुगेको ओपिसिडब्लूका निरीक्षकहरुलाई अझै उक्त क्षेत्रमा जान नदिइएको विवरण पनि सार्वजनिक भएको छ।

रासायनिक हमलाबारे अनुसन्धान गर्नका लागि दोमा सहरमा जान पाइने आशमा अझै कुरिरहेको ओपिसिडब्लूका लागि बेलायती राजदूत पिटर विल्सनले संस्थाका निर्देशकलाई उद्धृत गर्दै बताएका छन्।संस्थाको निर्देशकलाई उद्धृत गर्दै स्विडेनका प्रतिनिधिमण्डलले बताएअनुसार ओपिसिडब्लूका निरीक्षकहरुलाई दोमा सहरमा सुरक्षाको प्रत्याभूति गर्न नसिकने रुस र सिरियाले बताएका छन्।

नेदरल्यान्ड्सको राजधानी हेगमा आयोजना भएको ओपिसिडब्लूको आपतकालीन बैठकमा संस्थाका लागि अमेरिकी राजदूत केनेथ वार्डले दोमा सहरमा भएको रासायनिक हमलाको प्रमाणलाई रुसी फौजले हस्तक्षेप गरेको हुनसक्ने विचार राखेका थिए ।विदेशमन्त्री लाभरोभले अप्रिल ७ का दिन दोमा सहरमा रासायनिक हमला भएको भन्ने अमेरिकालगायतका देशको भनाइलाई पुनः अस्वीकार गरेका छन्।

‘म अन्य देशका राज्य प्रमुखप्रति असभ्य बन्न सक्दिँन तर तपाईंले फ्रान्स, अमेरिका र बेलायतलाई उद्धृत गर्नु भयो र निर्धक्क भएर भन्नुपर्दा उनीहरुले दोमामा रासायनिक हमला भएको भनेर उद्धृत गरेका सम्पूर्ण प्रमाण सामाजिक सञ्जाल र मिडियाको रिपोर्टमा आधारित हुन् ।’ ‘दोमा सहरमा रासायनिक हमला भएकै छैन । रासायनिक हमला भयो भन्नु मनगणन्ते र नाटक मात्रै हो,’ उनले बताए।

रासायनिक हमला भएको भनिएको क्षेत्रलाई अन्तर्राष्ट्रिय निरीक्षकहरुले निरीक्षण गर्न पुग्नुभन्दा अघि नै किन अमेरिका र उसको गठबन्धन राष्ट्रहरुले हवाई हमला गरे भनेर पनि लाभरोभले प्रश्न गरेका छन् । उनले सिरियामा शनिबार प्रहार गरिएको सयभन्दा बढी क्षेप्यास्त्रमध्ये दुई तिहाई क्षेप्यास्त्र निशाना हानिएको क्षेत्रमा पुग्नुभन्दा अघि नै रोकिएको भन्ने रुसी दाबीलाई पुनः दोहोर्‍याएका छन्।

विदेशमन्त्री लाभरोभले द्वन्द्व रोक्ने च्यानलले अमेरिका र रुसी फौजबीचको भीडन्त रोक्न आफ्नो कार्य गरेको दुई देशबीच आमनेसामनेको अवस्था नभएको बताए । तर उनले रुस र पश्चिमा राष्ट्रहरुबीच सम्पर्कको सुत्रको कमीका कारण दुवै पक्षले अहिले शीतयुद्धभन्दा खराब अवस्थाको सामना गरिरहेको बताए।

अप्रिल ७ का दिन विद्रोही नियन्त्रणमा रहेको सिरियाको राजधानी दमास्कस नजिकैको पूर्वी गुटाको दोमा सहरमा सरकारी फौजले रासायनिक हतियार प्रयोग गरेको भन्दै शनिबार अमेरिका, बेलायत र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेका थिए।  

सिरियामा अमेरिका, फ्रान्स र बेलायतले गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणको विषयमा युरोपेली संघका विदेशमन्त्रीको बैठक हुने भएको छ। उनीहरुले अमेरिकालगायतको क्षेप्यास्त्र आक्रमण सिरियाली शासनले आफ्नै जनता मार्न थप रासायनिक हमला नगरोस् भनेर गरिएको भन्नेमा आफूहरु विश्वस्त रहेको भन्दै सिरियाली सरकारविरुद्ध थप प्रतिबन्धको चेतावनीसमेत दिएका छन्।

उता संसद्मा छलफल नै नगरी अमेरिकाको पछि लागेर सिरियामा हवाई हमला गरेको भन्दै बेलायतका विपक्षी दलले आवाज उठाएपछि प्रधानमन्त्री मेले संसद्मा सम्बोधन गर्ने भएकी छन् भने हमलाको विषयलाई लिएर फ्रान्सेली संसद्मा पनि छलफल हुने भएको छ। सिरियाको विषयलाई लिएर रुसविरुद्ध अमेरिकाले थप नयाँ आर्थिक प्रतिबन्ध घोषणा गर्ने आशंका गरिएको छ।


 

प्रकाशित: ४ वैशाख २०७५ ०३:४३ मंगलबार

प्रमाण लुकाउन खोजेको आरोप अस्वीकार