भारतको कोलकातामा रहेको आरजी कर अस्पतालकी प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या प्रकरणमा सञ्जय रोयलाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको छ।
गत शनिबार दोषी ठहर गरेको कोलकाताको सियालदह अदालतले सोमबार सजाय सुनाएको हो। अदालतले आफ्नो फैसलामा रोयलाई मृत्यु नहुँदासम्म जेलमै बस्नुपर्ने भनेको छ। उनलाई भारतीय रुपैयाँ ५० हजार जरिवाना सुनाइएको छ।
न्यायाधीश अनिर्बान दासले पीडित परिवारलाई १७ लाख रुपैयाँ क्षतिपूर्ति दिन राज्य सरकारलाई आदेश दिँदै उक्त घटनालाई अत्यन्तै दुर्लभ भनेका छन्।
गत वर्षको अगस्ट ९ मा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको शव अस्पतालको सभाकक्षमा फेला परेको थियो। उनको बलात्कारपछिको हत्यालाई लिएर चिकित्सकहरुले करिब २ महिना कोलकाताभर स्वास्थ्य सेवा ठप्प पारेका थिए।
प्रहरीका अनुसार, बलात्कार र हत्याको यो घटना राति ३ देखि बिहान ६ बजेको बीचमा भएको थियो। ३४ वर्षीय रोयलाई अनुसन्धान सुरु भएको ६ घण्टाभित्रै पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रकाशित: ७ माघ २०८१ १८:३० सोमबार