अन्तर्राष्ट्रिय

दुई उत्तर कोरियाली सैनिकलाई समातेका छौँ: युक्रेनी राष्ट्रपति

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्। उनीहरूलाई रूसको कुर्स्क क्षेत्रबाट युद्धबन्दीको रूपमा नियन्त्रणमा लिइएको हो। 

जेलेन्स्कीका अनुसार दुवै सैनिकलाई 'आवश्यक चिकित्सा सहायता' दिइँदैछ। उनीहरू दुवैलाई राजधानी कीभस्थित युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा राखिएको छ। युक्रेनी राष्ट्रपतिले उत्तर कोरियाली सैनिकलाई पक्रन युक्रेनी प्याराट्रूपर्स र स्पेशल अपरेसन फोर्सप्रति 'कृतज्ञ' रहेको पनि बताए। 

उनले यो सजिलो काम नभएको उल्लेख गरेका छन्। बीबीसीका अनुसार जेलेन्स्कीले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै प्रमाण बाँकी नराख्न रूसी र उत्तर कोरियाली सेनाले घाइते उत्तर कोरियाली सैनिकलाई मृत्युदण्ड दिने गरेको आरोप समेत लगाएका छन्। 

युक्रेनको गुप्तचर सेवाले एक विज्ञप्तिमा उत्तर कोरियाली सैनिकहरूलाई नौ जनवरीमा पक्राउ गरिएको जानकारी गराएको छ। जेनेभा महासन्धि अन्तर्गत तोकिएको आवश्यक चिकित्सा हेरचाह प्रदान गरेर उनीहरूलाई कीभ ल्याइएको युक्रेनले दाबी गरेको छ।

प्रकाशित: २८ पुस २०८१ १२:०६ आइतबार

#russia ukraine war #north korea #NagarikNews