अन्तर्राष्ट्रिय

सिंह भएको जिम्बाब्वे पार्कमा हराएका बालक पाँच दिनपछि जीवितै फेला

उत्तरी जिम्बाब्वेमा सिंह र अन्य जङ्गली जनावरहरूका लागि आरक्षित बासस्थानमा पाँच दिनसम्म हराएका सात वर्षीय बालक जीवितै फेला परेको वन्यजन्तु प्राधिकरणले शुक्रबार जनाएको छ। 

जिमपार्कका प्रवक्ता तिनाशे फारावोका अनुसार ती बालक डिसेम्बर २७ मा आफ्नो गाउँ नजिकैको मातुसाडोना राष्ट्रिय निकुञ्जमा भुलेर प्रवेश गरेका थिए र पाँच दिनपछि करिब ५० किलोमिटर (लगभग ३० माइल) टाढा फेला परेका थिए।

फारावोले विज्ञप्तिमा उनले जङ्गली फल र नदीको किनारमा खनेर पानी निकालेर जीवन धानेको बताए। यो जिम्बाब्वेका खडेरी प्रभावित क्षेत्रहरूमा चिनिने प्रविधि हो।

'उल्लेखनीय रूपमा उनी सिंहले भरिएको मातुसाडोना राष्ट्रिय निकुञ्जको कठोर भू–भागमा आफ्नो गाउँबाट फेला परेको स्थानसम्म ४९ किलोमिटर हिँडेको अनुमान गरिएको छ,' फारावोले भने।

बालक बेपत्ता भएको सुनेपछि रेन्जर्स, स्थानीयवासी र प्रहरीले तुरुन्तै उनको खोजी सुरु गरेका थिए तर भारी वर्षाले उनीहरूको प्रयासमा बाधा पुर्यायो। उनको खुट्टाको छाप डिसेम्बर ३० मा देखिएको थियो र बालक तिनोतेन्दा पुन्दु भोलिपल्ट चाँडै फेला परेको फारावोले बताए।

त्यस क्षेत्रकी सांसद मुत्सा मुरोम्बेद्जीका अनुसार बालकलाई अस्पताल भर्ना गरिएको थियो र कमजोर भए पनि कुनै देखिने चोट थिएन।  

'उनी बाँच्नु एक चमत्कार थियो,' सांसद मुत्सा मुरोम्बेद्जीले भने, 'उनी चतुर थिए... सिंह र अन्य वन्यजन्तुले भेट्न नसकून् भनेर पहाडी चट्टानमाथि सुत्थे, गाउँलेहरूले उनले आवाज पछ्याउने आशामा ड्रम बजाएर खोजीमा सहयोग गरे।' तर उनलाई खोज्न जङ्गलको गहिराइमा जान सक्ने रेन्जरहरूको मद्दतले मात्र भेटिएको थियो।

जिम्बाब्वेको कारिबा तालको नजिक रहेको मातुसाडोना राष्ट्रिय निकुञ्जमा यसको वेबसाइट अनुसार सिंह, चितुवा, हात्ती र भैँसी लगायतका विभिन्न वन्यजन्तुहरू पाइन्छन्। एएफपी

प्रकाशित: २० पुस २०८१ ०८:०८ शनिबार

#NagarikNews #International