अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ परेनन्, प्रहरीको ६ घण्टे प्रयास विफल

प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ।

करिब छ घण्टा लामो सङ्घर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ।

युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ।

युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारी साधन समेत तेर्स्याएको थियो।

युनमाथि शक्तिको दुरुपायोग गरेको र सैन्य कानुन लागु गर्न खोजेको भन्दै महाभियोग प्रस्ताव संसदमा पुगेको छ। संसदमा महाअभियोग प्रस्ताव पुगेपछि उनी निलम्बित भएका थिए। दक्षिण कोरियामा संसद्को महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ।

तर, अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उहाँलाई पक्राउ गर्ने अनुमति दिएको थियो। त्यही अनुमतिका आधारमा प्रहरीको टोली शुक्रबार युनलाई पक्राउ गर्न गएको थियो। प्रहरीका २० वटा टोली बिहान ८ बजे नै युनको घरमा पुगेका थिए।

तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्ने मिसन रोकेको बताएको छ। एएफपी

प्रकाशित: १९ पुस २०८१ १९:५३ शुक्रबार

#NagarikNews #Southkorea