अन्तर्राष्ट्रिय

२०२४ मा धरतीबाट बिदा भएका प्रसिद्ध १२ व्यक्तिहरू

विश्वले सन् २०२४ लाई बिदा गर्दै आजदेखि २०२५ लाई स्वागत गरेको छ। हरेक वर्षजस्तै गएको वर्ष पनि विश्वले केही महत्त्वपूर्ण हस्तीलाई बिदा गरेको छ। नयाँ वर्षको पूर्व सन्ध्यामा अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले विश्वलाई अलबिदा गरे। २०२४ मा विश्वले केही अतुलनीय व्यक्तित्वहरू गुमायो जसले आफ्नो क्षेत्रमा गहिरो छाप छोडेका थिए। राजनीति, व्यापार, खेलकुद र मनोरञ्जन जगतबाट गत वर्ष बिदा भएका मध्ये केहीको संक्षिप्त चर्चा गरौँ:–

१. जिमी कार्टर (संयुक्त राज्य अमेरिका)
जिमी कार्टर अमेरिकाका ३९औँ राष्ट्रपति थिए। उनले १९७७ देखि १९८१ सम्म कार्यालय सम्हाले। उनको राष्ट्रपति कालमा शान्ति प्रयासहरू, मानवअधिकार र ऊर्जा सङ्कटको सामनाजस्ता कार्यहरू प्रमुख रहे। राष्ट्रपति पद छोडेपछि, उनले ह्याबिट्याट फर ह्युम्यानिटी र अन्य मानवीय कार्यहरूमा आफ्नो ध्यान केन्द्रित गरेर मानव सेवा छोडेका थिएनन्। 

उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार पनि मिलेको थियो। एक अक्टोबर १९२४ मा जन्मिएका अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको २९ डिसेम्बर २०२४ मा एक सय वर्षको उमेरमा निधन भएको हो।

२. मनमोहन सिंह (भारत)
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले २००४ देखि २०१४ सम्म दुई कार्यकाल पूरा गरेका थिए। भारतको अर्थतन्त्रमा उनले पुर्‍याएको योगदानको चर्चा अहिले पनि हुन्छ। सिंहलाई एक अर्थशास्त्री र राजनीतिज्ञको रूपमा चिन्न सकिन्छ। उनले भारतको आर्थिक उदारीकरणको अगुवाइ गरे। उनले लिएको आर्थिक उदारीकरणको नीतिले कारण भारतको आर्थिक वृद्धि तीव्र भयो। 

व्यक्तिगत कुरा गर्दा प्रायः शान्त स्वभाव र नीति–निर्माणको कुशलता उनको व्यक्तित्वको विशेषता थियो। भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह ९२ वर्षको उमेरमा बिते। २६ सेप्टेम्बर १९३२ मा जन्मिएका सिंहको ९२ वर्षको उमेरमा २६ डिसेम्बर २०२४ मा भएको हो।

३. इब्राहिम रइसी (इरान)
इरानका राष्ट्रपति इब्राहिम रइसी एक इस्लामिक कट्टरपन्थी राजनीतिज्ञ थिए। उनले इरानको न्याय प्रणालीमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको नेतृत्वमा इरानले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न चुनौतीहरू सामना गर्‍यो, विशेष गरी पश्चिमी देशहरूसँगको सम्बन्धमा सङ्घर्ष गर्नुपरेको थियो। १४ डिसेम्बर १९६० जन्मिएका उनको विमान दुर्घटनामा परेर २०२४ मा ६४ वर्षको उमेरमा निधन भएको थियो। विमान दुर्घटना भनिए पनि उनको निधन रहस्यमय नै रह्यो।

४. रतन टाटा (भारत)
टाटा समूहका प्रमुख रतन टाटाले १९९१ देखि २०१२ सम्म कम्पनीको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा टाटा समूह अन्तर्राष्ट्रिय स्तरमा विस्तार भयो। उनले नै टाटा मोटर्समार्फत जगुआर र ल्यान्ड रोवर जस्ता ब्रान्डहरूलाई अधिग्रहण गरे। उनको व्यावसायिक दृष्टिकोण र नैतिक मूल्यहरूले भारतीय उद्योग जगत्मा ठुलो प्रभाव छोडेको छ। उनी व्यापारिक दुनियाँमा मात्र सफल थिएनन्, परोपकारमा पनि उनको नाम सधैँ शीर्ष स्थानमा रहने गरेको थियो। २८ डिसेम्बर १९३७ मा जन्मिएका टाटाले ९ अक्टोबर २०२४ मा ८६ वर्षको उमेरमा यो दुनियाँलाई अलबिदा भने।

५. ओसामु सुजुकी (जापान)
सुजुकी मोटर्स कर्पोरेसनका पूर्व अध्यक्ष ओसामु सुजुकीले कम्पनीलाई विश्वव्यापी पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको नेतृत्वमा नै सुजुकीले भारतमा पनि ठुलो सफलता हासिल गर्‍यो। 

भारतमा मारुति सुजुकी एक प्रमुख कार निर्माता बन्यो। उनको नेतृत्व कालमा सुजुकीले धेरै प्रकारका कम्प्याक्ट र कम मूल्यका कारहरू उत्पादन गरेर आफ्नो नाम स्थापित गर्‍यो। ३० जनवरी १९३० मा जन्मिएका सुजुकी मोटर्सका पूर्व सिइओ ओसामु को ९४ वर्षको उमेरमा २५ डिसेम्बर २०२४ मा निधन भयो।

६. फ्रान्ज बेकनबाउर (जर्मनी)
फुटबल क्षेत्रमा महान् खेलाडी फ्रान्ज बेकनबाउर एक खेलाडी मात्र नभएर कुशल प्रबन्धक पनि थिए। उनले जर्मनीलाई दुई पटक विश्व कप जिताए, एक पटक खेलाडीको रूपमा र अर्को पटक प्रबन्धकको रूपमा। उनलाई ‘डेर काइजर’ को उपाधि दिइएको थियो। उनको स्वीपर भूमिकाले फुटबल खेलको धेरै रणनीति परिवर्तन गरेको थियो। ११ सेप्टेम्बर १९४५ मा जन्मिएका फुटबल क्षेत्रका महान् हस्ती फ्रान्जलाई पनि विश्वले ७ जनवरी २०२४ मा ७८ वर्षको उमेरमा बिदा गरेको थियो।

७. केल्विन किपटम (केन्या)
केल्विन किपटम एक युवा म्याराथन धावक थिए। उनले २०२३ मा सिकागो म्याराथनमा विश्व रेकर्ड तोडेका थिए। उनको प्रदर्शनले उनलाई लामो दौडमा भविष्यको स्टारको रूपमा चिन्न थालिएको थियो। तर उनको जीवन एक सडक दुर्घटनाको सिकार बन्यो। २ डिसेम्बर १९९९ मा जन्मिएका म्याराथनका विश्व रेकर्डधारी केल्विनले मात्र २४ वर्षको उमेरमा ११ फेब्रुअरी २०२४ मा सबैलाई स्तब्ध पार्दै बिदा भएका हुन्।

८. अलेक्सेई नाभाल्नी (रुस)
अलेक्सेई नाभाल्नी एक प्रमुख रुसी विपक्षी नेता थिए। दुई दशक भन्दा लामो समयदेखि रुसको सत्तामा काबिज भ्लादमिर पुटिनको कटु आलोचक र प्रतिस्पर्धीका रूपमा हेर्ने गरिएको थियो। पुटिन सरकारमा भएका भ्रष्टाचारविरुद्ध खरो रूपमा उत्रेका उनले लामो समय कैद सजाय भोग्नुपरेको थियो। भ्रष्टाचारविरुद्ध अभियान चलाएका कारण उनी पुटिनको निशानामा थिए।

 उनलाई अमेरिकासहित पश्चिमा देशहरूको पनि राम्रो समर्थन थियो। ४ जुन १९७६ मा जन्मिएका उनको मृत्यु अर्कटिक कारागारमा १६ फेब्रुअरी २०२४ मा भएको थियो। उनी राजनीतिक कारणले कैद सजाय भोग्दै आएका थिए। उनले रुस र विश्वभरका मानव अधिकार आन्दोलनहरूलाई प्रेरणा दिए।

९. मारियो जागाल्लो (ब्राजिल)
मारियो जागाल्लो ब्राजिलियन फुटबलका महान् हस्ती थिए। उनका नाममा चार पटक विश्व कप जित जोड्ने गरिन्छ। उनले दुई पटक खेलाडीको रूपमा ९१९५८ र १९६२०, र दुई पटक प्रबन्धकको रूपमा ९१९७० र १९९४ को तकनीकी संयोजक० को रूपमा कप जिताउन भूमिका खेलेका थिए। ९ जुन १९३१ मा जन्मिएका ब्राजिलियन फुटबलका महान् हस्ती जागाल्लोको ५ जनवरी २०२४ मा ९२ वर्षको उमेरमा निधन भएको थियो।

१०. चिता रिवेरा (संयुक्त राज्य अमेरिका)
चिता रिवेरा एक प्रख्यात ब्रोडवे नर्तकी र अभिनेत्री थिइन्। उनले ‘वेस्ट साइड स्टोरी’ र ‘सिकागो’ जस्ता प्रसिद्ध प्रदर्शनहरूमा आफ्नो प्रतिभा देखाएकी थिइन्। उनले मनोरञ्जन क्षेत्रमा अतुलनीय प्रभाव छोडिन्। उनले आफ्नो कलाकारिता जीवनमा धेरै पुरस्कारहरू हासिल गर्न सफल भएकी थिइन्। २३ जनवरी १९३३ मा जन्मिएकी ब्रोडवेकी चम्किलो तारा चिता रिवेरा ९१ वर्षको उमेरमा सबैलाई स्तब्ध पार्दै ३० जनवरी २०२४ मा विश्वबाट अलबिदा भइन्।

११. दमननाथ ढुङ्गाना (नेपाल)
दमननाथ ढुङ्गानाले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले २०५९ देखि २०६४ सम्म नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। वि।सं। २०४६ मा संवैधानिक राजसंस्था स्थापना भएपछि पहिलो सभामुखका रूपमा उनले निर्वाह गरेको भूमिका उदाहरणीय मानिन्छ। उनी २३ वर्षको अन्तरालपछि २०७४ सालमा सक्रिय राजनीतिमा फर्किएका थिए। १५ जनवरी १९४२ मा जन्मिएका उनको १७ नोभेम्बर २०२४ मा ८२ वर्षको उमेरमा निधन भएको थियो। 

१२. साउलोस क्लाउस चिलिमा (मलावी)
सन् २०२४ मा अफ्रिकाको दक्षिण–पूर्वी भागमा पर्ने मलावीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिमा पनि सैन्य विमान दुर्घटनाग्रस्तको सिकार भएका थिए। सन् १९७१ मा जन्मिएका चिलिमाको मृत्यु ५१ वर्षको उमेरमा १० जुन २०२४ मा मृत्यु भएको थियो। उनी सन् २०१४ र २०२० उनी दुई पटक उपराष्ट्रपति पदमा नियुक्त भएका थिए।

प्रकाशित: १७ पुस २०८१ १४:४५ बुधबार