सन् २०२४ विश्व भूराजनीति र वैश्विक स्थिरतालाई थप चुनौती दिने सङ्घर्षको वर्षका रूपमा घटेको छ। विशेष गरी सन् २०२२ देखि नै जारी रुस र युक्रेनबिचको युद्ध र मध्यपूर्वमा सन् २०२३ देखि इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासबीचको सङ्घर्षको प्रभाव विस्तार हुँदै सन् २०२४ को अन्त्यसम्म आइपुग्दा विश्व शान्तिलाई नै खलल पुर्याउने दिशामा अघि बढेको टिप्पणी भइरहेका छन्।
सन् २०२३ सम्म युक्रेन–रसिया युद्ध केवल युक्रेनी भूमिमा सीमित थियो, तर सन् २०२४ सम्म पुग्दा युक्रेनले रुसी भूमिमाथि नै जवाफी हमला गरिरहेको छ र रुसको कुर्स्क क्षेत्रको केही भूभागमा युक्रेनी सेनाले कब्जासम्म गर्न भ्याएको छ।
यता मध्यपूर्वको द्वन्द्व गाजा र इजरायलमा मात्र सीमित रहेन। २०२४ मा लेबनान, सिरिया, इरान हुँदै यमनसम्म पुगेको छ। यस अर्थमा सन् २०२४ मा भएका यी युद्ध विस्तारले समग्र विश्वलाई प्रभाव पारे।
यही कारण २०२४लाई युद्धको वर्ष भनेर धेरैले टिप्पणी गरिरहेका छन्। अर्कातिर, पूर्वी एसियामा उत्तर कोरिया र दक्षिण कोरियाबिचको द्वन्द्व झन् कठिन मोडमा आइपुगेको छ। चीनले ताइवानमाथि थप दबाब बढाएको छ।
वर्षान्तमा पाकिस्तानले अफगानिस्तान भूमिमा रहेर आक्रमण गरिरहेका पाकिस्तानी तालिबानमाथि आक्रमण गर्दा अफगानिस्तानको तालिबान सत्ता रिसाएको छ, जसले स्थिति द्वन्द्वोन्मुख बनाएको छ।
रुस–युक्रेन युद्ध: रुसी भूमिमै पस्यो युक्रेन
रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य कारबाही सुरु गरेयता विश्वको भूराजनीति तरङ्गित अवस्थामा छ । युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिन खोजेर आफ्नो राष्ट्रिय सुरक्षा चुनौती थपेको भन्दै रुसले युक्रेनमाथि हमला गरेको थियो ।
त्यसपछि विश्वले झेलेको भूराजनीतिक द्वन्द्वको प्रभाव त एकातिर छ नै, अर्कातिर त्यसबाट चुलिएको विश्वव्यापी महँगीको मारमा विपन्न देश र गरिब जनताले झेलिरहेका छन् । यो युद्धमा लाखौँ मानिस मारिएको छन् । जसमा रुसी सेनामा अनधिकृत जाने दर्जनौँ नेपाली युवा समेत सामेल छन् । लाखौँ युक्रेनी नागरिक शरणार्थी भएर युरोपका देशमा कष्टकर जीवन बिताइरहेका छन् ।
युक्रेनलाई कमजोर आकलन गरेर केही दिनभित्रै किभ कब्जा गर्ने रणनीतिसाथ आक्रमणमा उत्रिएको रुसले तीन वर्षसम्म लड्दा पनि आफ्नो लक्ष्य भेट्टाउनै सकेको छैन । अमेरिका, नाटो देश र पश्चिमा शक्तिको स्रोतसाधनको बलमा युक्रेनले रुससँग सङ्घर्ष गरिरहेको छ।
सन् २०२३ सम्म युक्रेनी भूमिमा सीमित युक्रेन–रुसको यो युद्ध २०२४ सकिँदा रुसी भूमिमा नै विस्तार भइसकेको छ । एकपछि अर्को गर्दै नाटो देशले रुसी भूमिमै आफ्नो हतियार प्रयोग गर्न दिएको छुटपछि युक्रेनले मिसाइल र ड्रोनमार्फत रुसकै जमिनमा हमला गर्न थालेको छ ।
२०२४ मा युक्रेनी सेना रुसी भूमिमै पसेर पनि आक्रमण गर्न भ्याएका छन् । रुसको कुर्स्क क्षेत्रको केही भूभाग युक्रेनी सेनाले कब्जामा समेत लिएका छन् । त्यहाँबाट हज्जारौं रुसी नागरिक विस्थापित हुनु परेको छ ।
भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेपछि भने यो युद्ध धेरै अगाडि नजाने आशङ्का गरिएको छ । अमेरिकाले युक्रेनलाई सैन्य सहयोग कटौती गरे युक्रेन हार्न सक्ने अड्कलबाजी भइरहेको छ ।
तर,भर्खरै एक भाषणमा ट्रम्पले अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहयोग नरोकिने बयान पनि दिएका छन् । तर, ट्रम्पले आफ्नो पदभार लिनै बाँकी छ, उनले पदभार सम्हालेपछि लिने रणनीतिले रुस–युक्रेन युद्धको भविष्य निर्धारण गर्ने छ ।
मध्यपूर्व द्वन्द्व: पाँच मोर्चामा युद्धरत इजरायल
७ अक्टोबर २०२३मा प्यालेन्स्टाइनी कट्टरपन्थी समूह हमासले अकस्मात् इजरायलमा आक्रमण गर्दा हज्जाराैं मानिसको ज्यान गएको थियो । त्यो घटनापछि आक्रोशित इजरायलले गाज पट्टीमाथि निर्मम आक्रमण सुरु गरेको थियो ।
इजरायलको आक्रमणमा गाजा खण्डहर बनेको छ, ४० हजारभन्दा बढी सर्वसाधारण मारिएका छन् । हज्जारौं बेघर हुँदै शरणार्थी शिविरमा बस्न विवश छन् ।
इजरायलले सन् २०२४ मै एकपछि अर्को गर्दै हमासका नेताहरू पनि मारिदिएको छ । जुलाई ३१ मा हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको तेहरानमा हत्या भयो । उनको हत्याको इजरायलले स्वीकार गरेको छैन । तर, हानियालाई इरानले बसालेको अतिथि गृहमै सटिक बम खसालेर उनको हत्या भएको थियो ।
यसै वर्ष हमासका अर्का नेता याह्या सिनवारको पनि गाजामा हत्या भएको छ । उनीहरूबाहेक दर्जनौँ हमास नेता इजरायलको आक्रमणमा मारिइसकेका छन् ।
यता हमासलाई कमजोर पारेपछि यसै वर्ष लेबनानको हिज्बुल्लाहमाथि इजरायलले ठुलो आक्रमण गरेको छ । हिज्बुल्लाहमाथि आक्रमणका दौरानमा इजरायलले हवाई, मिसाइल, ड्रोन आक्रमण बाहेक लेबनानकै भूमिमा पसेर पनि यसै वर्ष आक्रमण गर्यो ।
यसै वर्ष सेप्टेम्बरमा हिज्बुल्लाहका शीर्ष नेता हसन नसरल्लाहलाई समेत इजरायलले मारेको छ । उनी लगायत तमाम नेता मारिँदा हिज्बुल्लाह निकै कमजोर भइसकेको बताइन्छ ।
यता इजरायल र इरान पनि यसै वर्ष एक अर्कामाथि आक्रमणमा उत्रिएका छन् । हमास नेता हानियाको आफ्नै भूमिमा हत्या गरेको विरोधमा इरानले इजरायलमाथि मिसाइल र ड्रोनबाट हमला गरेको थियो । जसको विरोधमा इजरायलले इरानमाथि हवाई हमला गर्दै जबाफ फर्काएको थियो ।
दुई देशबिचको द्वन्द्व सन् २०२५ मा अझै अघि बढ्न सक्ने अवस्थामा छ । दुई देशका नेताहरूबिचको वाक युद्धले यो क्रम निकै घातक युद्धमा परिणत हुने सम्भावना रहेको जानकारहरू बताउने गर्छन् ।
इजरायलले अर्को युद्ध सिरियाका विद्रोही सँग पनि गरिरहेको छ । गोलन हाइट कब्जामा लिएर इजरायलले आफूमाथि आक्रमण गर्ने समूहमाथि निर्मम हवाई आक्रमण गरिरहेको छ ।
वर्षान्तमा यमनको हुथीमाथि पनि इजरायलले अर्को मोर्चा खोलेको छ । हमास र हिज्बुल्लाहको कमर तोडिसकेपछि इरानको अर्को प्रोक्सी मानिने हुथीमाथि अब इजरायलको नजर रहेको बताइन्छ ।
यसै वर्ष अन्य क्षेत्रीय द्वन्द्वमा पूर्वी एसियामा उत्तर कोरिया र दक्षिण कोरियाबिचको द्वन्द्व झन् कठिन मोडमा आइपुगेको छ, जसले क्षेत्रीय तनावमा वृद्धि गरेको छ।
चीनले ताइवानमाथि थप दबाब बढाएको छ । जसले चीन र अमेरिकाबिच अझै तनाव बढ्न सक्ने खतरा छ ।
पाकिस्तानले अफगानिस्तान भूमिमा रहेर आक्रमण गरिरहेका पाकिस्तानी तालिबानमाथि आक्रमण गर्दा अफगानिस्तानको तालिबान सत्ता रिसाएको छ, जसले स्थिति द्वन्द्वोन्मुख बनाएको छ।
सन् २०२४ को सबैभन्दा चिन्ताजनक कुरा वैश्विक युद्ध मात्रै नभएर यसमा आम नागरिकहरूको मृत्यु पनि हो। सन् २०२४ को अन्तमा, यी सङ्घर्षहरूले अन्तर्राष्ट्रिय कूटनीति, सङ्घर्ष समाधान, र मानवीय हस्तक्षेपको तत्काल आवश्यकतामा जोड दिन्छ। नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै गर्दा विश्व समुदायले शान्तिको अपेक्षा गरिरहेको छ।
-एजेन्सीहरूको सहयोगमा
प्रकाशित: १६ पुस २०८१ १९:१५ मंगलबार