अंग्रेजी वर्ष २०२४ लाई विश्वले केही दिनपछि विदा गर्नुपर्नेछ। विश्व आउँदो अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागतको तयारीमा छ। यसबीच २०२४ मा विश्वले धेरै ठूला संकटहरू भोग्नुपरेको छ, जसले लाखौं मानिसलाई प्रभावित गरेको छ।
चाहे त्यो द्वन्द्व, आर्थिक संकट, जलवायु प्रकोप वा खाद्यान्न अभावसहितका कुराले आम मानिसको जीवनमा गहिरो प्रभाव पार्यो। युक्रेन–रुस युद्ध र हमास–इजरायल द्वन्द्वजस्ता युद्धहरूले धेरैको जीवन लिएको छ, मानिसहरूलाई विस्थापित गरेको छ। आज हामी २०२४ का शीर्ष दश विश्वव्यापी संकटहरूबारे चर्चा गर्न गइरहेका छौँ।
युक्रेन युद्ध: रुस र युक्रेनबीचको यो युद्धले सम्पूर्ण क्षेत्रलाई तहसनहस पारिरहेको छ। यसले ठूलो जनधनको क्षति, लाखौंको विस्थापन र लामो समयसम्म मानवीय संकट निम्त्याएको छ। यो विनाश व्यापक छ र भूराजनीतिक मुद्दा यसको प्रमुख कारण बनेको छ।
हमास-इजरायल द्वन्द्व: हमास र इजरायलको बीचमा चलिरहेको द्वन्द्वले दुवै पक्षमा ठूलो हताहत भएको छ। गाजासहित मध्यपूर्व पूर्ण युद्धमैदान परिणत भएको छ, जसकारण सो क्षेत्र शान्तिबाट वञ्चित भएको छ। मध्य पूर्वबाट सल्किएको आगो खाडी हुँदै इरानसम्म फैलने खत्तरा छ।
सिरिया संकट: सन् २०११ मा सुरु भएको सिरियाको गृहयुद्ध टुंगोमा पुग्न सकेको छैन। बसर अल-असद अपदस्थ भए पनि सिरियामा जारी संकटले निकास पाउने देखिएको छैन। असद सरकारले प्रजातन्त्र समर्थकलाई कुल्चेर सन् २०११ मा सुरु गरेको गृहयुद्धको असर २०२४ मा पनि छ। राजनीतिक अस्थिरता, विस्थापन र मानवीय सहायताको अभावले सिरियालीहरूलाई लामो समयसम्म असर गरिरहेको छ। यसबीच यो देशको अस्तित्व नै संकटमा पर्ने चर्चा समेत भइरहेको छ।
जलवायु परिवर्तन प्रकोप: यस वर्ष विश्व डरलाग्दो बाढी, आँधी र वन डढेलो जस्ता जलवायु परिवर्तनका प्रभावको सिकार भयो। यी प्राकृतिक प्रकोपहरूले मानिसहरूलाई विस्थापित गर्ने मात्रै नभएर ठूलो आर्थिक क्षति पनि पुगेको छ। विश्वव्यापी वातावरणीय संकट पनि निम्त्याउने खतरा छ।
विश्वव्यापी खाद्यान्न अभाव: वातावरणीय परिवर्तन, युद्ध र आर्थिक अव्यवस्थाका कारण विश्वव्यापी खाद्य आपूर्ति श्रृंखला धराशायी भएको छ। यसबाट विश्वमा खाद्य संकट निम्त्याएको छ। लाखौं मानिस भोकमरीको सामना गर्न बाध्य छन्।
अफगानिस्तान मानवीय संकट: अफगानिस्तानमा गरिबी, खाद्यान्न अभाव र स्वास्थ्य सेवाको अभावले मानवीय संकट उत्पन्न भएको छ। तालिबानको कडा शासन र कमजोर अर्थतन्त्रले जनताको जीवन झन् कष्टकर बनाएको छ। तालिबानमाथि लागेको वैश्विक प्रतिबन्धले पनि त्यहाँको अवस्था थप चिन्ताजनक बनाएको छ।
इथियोपियामा टाइग्रे द्वन्द्व: सन् २०२३ नोभेम्बर २ मा सरकार र टाइग्रेबीच युद्धविराम भए पनि टाइग्रेमा द्वन्द्व अझै जारी छ। यसले मानव जीवनको क्षति गर्नुका साथै विस्थापनको व्यापक श्रंखला निम्त्याएको छ।
म्यानमारमा सैन्य कुः म्यानमारको सैन्य शासकले विरोध प्रदर्शन र विपक्षीहरूमाथि हिंसात्मक कारबाही जारी राखेका छन्। मानवअधिकार उल्लङ्घन र दमनले म्यानमारमा देखिएको संकट पनि कम हुने देखिएको छैन।
उत्तर कोरियाली भोकमरी: खराब आर्थिक व्यवस्थापन, प्राकृतिक प्रकोप र प्रतिबन्धका कारण उत्तर कोरियाली जनताहरू भोकमरीको सामना गरिरहेका छन्। राजनैतिक असन्तुष्टिलाई निर्ममतापूर्वक दमन गर्ने क्रम जारी छ।
विश्वव्यापी आर्थिक मन्दी: विश्व अर्थतन्त्र २०२४ मा मन्दीमा प्रवेश गरेको छ। मुद्रास्फीति, बेरोजगारी र आर्थिक अस्थिरताले धेरै देशहरूलाई असर गरेको छ। गरिबी र असमानता बढाएको छ र विश्वभरका लाखौं मानिसहरू प्रभावित भएका छन्।
यी बाहेक हालै दक्षिण कोरियामा लगाइएको सैन्य कूले पनि त्यहाँ राजनीतिक संकट देखिएको छ, जहाँ दुई सातामा तीन राष्ट्रपति परिवर्तन भएको छ।
भारतको मणिपूर राज्यमा पनि लामो समयदेखि जारी जातीय हिंसाले पार पाउन सकेको छैन। यी संकटहरूले विश्वभर असर पारेका छन्। यी समस्याहरू एकअर्कासँग जोडिएका छन्। सबै समस्या समाधानका लागि विश्वव्यापी रूपमा ठूलो प्रयास आवश्यक छ।
प्रकाशित: १३ पुस २०८१ १४:१८ शनिबार