अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष

अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुबाहक विमान बुधबार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ। फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो। 

दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ। मन्त्रालयले दुर्घटनाबाट २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ। जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए। कजाख सञ्चार माध्यमका अनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीनजना नागरिक थिए।

दुर्घटनाको प्रारम्भिक कारण चरा ठोक्किएको देखिएको बताइएको छ। एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो। एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो। यो विमानले ४ हजार ५ सय किलोमिटरसम्म उड्न सक्छ।

फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो। क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन संकेत जारी गर्‍यो। अजरबैजानी मिडियाले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ। जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पुर्‍याइएको थियो।

प्रकाशित: ११ पुस २०८१ १३:१९ बिहीबार

#plane crash #NagarikNews