अन्तर्राष्ट्रिय

बंगलादेशमा क्रिसमस मनाउन छिमेकी गाउँमा गएका १७ क्रिस्चियनको घरमा आगजनी

बंगलादेशमा क्रिसमसको एक दिनअघि इसाई समुदायका १७ वटा घर जलाइएको छ। सो घटना बन्दरबन जिल्लाको चटगाउँ पहाडमा भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। क्रिसमसको अवसरमा प्रार्थना गर्न चर्च गएका बेला मौकाको फाइदा उठाउँदै घरमा आगजनी गरिएको पीडितहरूको दाबी छ।

घटनामा १५ लाखभन्दा बढीको बंगलादेशी मुद्राको नोक्सानी भएको इसाई समुदायका व्यक्तिहरूले बताएका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।

आगजनीका सम्बन्धमा बुधबार दिउँसोसम्म कुनै औपचारिक उजुरी नपरेको छैन तर उजुरी आएमा कारबाही गरिने प्रहरीले जनाएको छ।

चार महिनादेखि बन्दरवन (चटगाउँ पहाडी क्षेत्र) को लामा सराईको एसपी गार्डेनमा त्रिपुरा समुदायका १९ परिवार बस्दै आएका थिए। यो बगैचा हसिना सरकारका वरिष्ठ अधिकारी बेनजीर अहमदको हो। यसलाई एसपी गार्डन भनेर चिनिन्छ।

५ अगस्टपछि बेनजीर अहमद र उनको परिवारका सदस्यले यो क्षेत्र छोडे। त्यसपछि त्रिपुरा समुदायका १९ परिवार आएर यहाँ बस्न थाले। हिजो साँझ क्रिसमसको अवसरमा सबै छिमेकी चर्चमा प्रार्थना गर्न गएका बेला मौकाको फाइदा उठाउँदै घरमा आगजनी गरेका थिए।

यसै क्रममा क्रिश्चियन समुदायका मानिसहरूले यो आफ्नो भूमि भएको बताएका छन्। पहिले यस क्षेत्रको नाम टाङ्झिरी पारा थियो। यसलाई बेनजीर अहमदका मानिसहरूले कब्जा गरेका थिए र नाम परिवर्तन गरी एसपी गार्डन राखिएको थियो।

पीडित परिवारका सदस्य गंगामणि त्रिपुराले नोभेम्बर १७ देखि क्षेत्र खाली गर्न भनिएको बताए। उनीहरूले यहाँ बस्नका लागि ठूलो रकम मागेका थिए।

स्टेफन त्रिपुरासहित १५ जनाविरुद्ध लामा प्रहरी चौकीमा उजुरी दिए पनि प्रहरीले कुनै कारबाही नगरेको पीडित गंगाले बताइन्। अहिले घरमा आगलागीका कारण सबै परिवार खुला आकाशमुनि बस्न बाध्य छन्। घर जलेर खरानी भएको गंगाले भनिन्, 'अब हामीसँग केही छैन।' एजेन्सी

प्रकाशित: ११ पुस २०८१ ०८:०७ बिहीबार

#Nagariknews #International