अन्तर्राष्ट्रिय

होन्डा र निशान विलय चर्चाले ल्याएको तरंग

जापानी कार निर्माता कम्पनीहरू मित्सुविसी, होन्डा र निशानले एकअर्कामा कम्पनी विलय गर्ने चर्चा चुलिएको छ। हाललाई मित्सुविसी यसमा इच्छुक नदेखिएको भए पनि होन्डा र निशान आपसमा गाभिएर (मर्ज) तिनले संसारको कार बजारमा गिर्दाे शाख र प्रतिस्पर्धामा आफूलाई अघि बढाउलान् भन्ने कुरा शंकाको घेरामा छ।

कतिपय विश्लेषकले यी कार कम्पनीको मर्जरले सफलताको कथा दोहो¥याउने विषयमा भने आशंका व्यक्त गरिरहेका छन्। अझ उनीहरूको दाबी त केसम्म छ भने यिनको मर्जरले कम्पनी अझ बढी असफल हुने बाटोमा जाने छ।

जापानी कार निर्माता दुई कम्पनी होन्डा र निशानको काम गर्ने शैली फरक छ, तिनको प्रविधि, मोडल र व्यापार कसरी फैलाउने भन्ने सिद्धान्त पनि फरक छ। यी दुवै कम्पनीका अधिकारीले एकअर्काको व्यापार कसरी खोस्ने भन्ने प्रतिस्पर्धामै दशकौं बिताइरहेका छन्। यस्तो अवस्थामा उनीहरूलाई सँगै काम कसरी गर्ने भन्ने सिक्न निकै समय लाग्ने विश्लेषकहरू बताउँछन्।

सन् १९९८ मा जर्मनीका दुई कार निर्माताहरू क्रिसेलर र डाइमलरबिच मर्जरको काम गरेका अमेरिकाको मिचिगनस्थित एक कम्पनीका सञ्चालक थोमस स्टलकाम्प भन्छन्, ‘यी अन्य साना कम्पनीजस्तो होइन। यी दुवै ठुला कम्पनी हुन्। यिनका संसारभर शाखा र कारखाना छन्। यी दुई कम्पनीका कर्मचारीलाई एकै ठाउँमा काममा लगाउनै सक्नुहुन्न।’

होन्डा र निशानले यसै वर्षदेखि विद्युतीय सवारीसाधन बनाउने तयारी पनि गरिरहेका छन्। निशान कम्पनीसँग मिलेर काम गरिरहेको मित्सुविसी मोटर भने तुलनात्मक रूपमा सानो कम्पनी हो। होन्डा र निशान मिले भने यो संसारको तेस्रो सबैभन्दा बढी कार उत्पादक कम्पनी बन्ने छ। हाल टोयोटाले संसारमा सबैभन्दा बढी कार उत्पादन गर्छ। दोस्रो नम्बरमा फक्सवागन पर्छ।

पछिल्लो समय पेट्रोल कार उत्पादकहरूले चिनियाँ कम्पनीहरूबाट कडा प्रतिस्पर्धा झेलिरहेका छन्। संसारमा सबैभन्दा बढी कारका क्रेता चीनमा छन्। चीनमा चिनियाँ ब्रान्डले नै घरेलु बजार कब्जा गरेपछि उनीहरू अहिले संसारको बजार कब्जा गर्ने दौडमा छन्। यस्तोमा विदेशी ब्रान्डले चीनमा गोडा फैलाउने अवसर पाउन छाडेका छन्।

त्यसमाथि चिनियाँहरूले विद्युतीय सवारीसाधनमा निकै अगाडि फड्को मारिसकेका छन्। चिनियाँ ग्राहकहरू कि त विद्युतीय सवारी कि हाइब्रिड सवारीमा चासो राखिरहेका छन्।

चिनियाँहरूलाई अब पेट्रोल गाडीमा लोभ्याउनै गाह्रो भइरहेको अवस्थामा कसरी होन्डा र निशानले आफ्नो व्यापार चम्काउलान्, धेरैले चासोपूर्वक हेरिरहेका छन्। अहिलो चिनियाँ बजारमा सबैभन्दा बढी बिवाइडी, साइक र टेस्लाको चकचकी छ।

गत वर्षको मार्चमा होन्डाको बिक्री १४ प्रतिशतले घटेको थियो। त्यस्तै संसारभर एक लाख कम कार बिक्री भएको थियो। अघिल्लो आवमा ३९ लाख वटा कार बिक्री भएकामा गत वर्ष ३८ लाखवटा कार बिक्री भएको थियो। बरु होन्डाको अवस्था सन्तोषजनक छ।

निशानको अवस्था त अझ दर्दनाक छ। उसको अमेरिकाको बजार खस्किएको छ। जसकारण उसले नौ हजार कर्मचारी संसारभरबाट कटौती गरिसकेको छ। उसले २० प्रतिशत कार निर्माण कटौती गर्ने बताएको छ।

सबैतिरको खर्च कटौती गरिसकेपछि निशान र होन्डाले आफ्नो ध्यान इलेक्ट्रिक कार बनाउनेतर्फ केन्द्रित गर्नेछन्। यो काम कम खर्चमा हुनेछ भन्ने एउटा विश्वास कम्पनीको छ तर यो विश्वास एउटा सिद्धान्त मात्रमा आधारित हो। किनभने, यसअघि अमेरिकाको फोर्ड कम्पनी र जर्मनीको फक्सवागनले विद्युतीय सवारीसाधन निर्माण गर्ने र स्वचालित सवारीका रूपमा त्यसलाई लोकप्रिय बनाउने लक्ष्यका साथ काम अघि बढाएका थिए। तर यो सहकार्यले अहिलेसम्म कुनै फलदायी परिणाम दिन सकेको छैन।

होन्डाले यसअघि पनि अमेरिकी कम्पनी जेनरल मोटर्ससँग सहकार्य गरेको थियो। उसले होन्डा प्रोलोग र एक्युरा बनाएर त्यसको व्यापारिक मुनाफा कमाउने बाटो खोजिरहेको थियो तर सम्भव नभएपछि दुईवटै मोडललाई उसले छाडिदियो। त्यही मोडल लिएर जेनरल मोटर्सले कोरियाली कम्पनी हुन्डाईको मुख ताकिरहेको छ ताकि त्यसलाई बृहत् आकारमा उत्पादन गर्न सकियोस् र सस्तो दाममा सर्वसाधारणलाई बेच्न सकियोस्।

होन्डा र निशान दुवैको ठुलो बजार अमेरिका हो। होन्डाका साना आकारका गाडीहरू अमेरिकामा लोकप्रिय छन् भने निशानका ट्रक लोकप्रिय मानिन्छन्। यी दुईको एकीकरणले ट्रक र साना आकारका गाडीमा एकाधिकार हुन सक्छ। यस्तै निशानले दुईवटा कारखानाबाट कार उत्पादन गरिरहेको छ भने होन्डाले चारवटा कारखानाबाट। यस्तोमा उनीहरूले खर्च घटाउन केही कारखाना बन्द गर्न सक्छन् तर समस्या यहीँनेर हुनेछ।

हरेक कम्पनीले आफ्ना कर्मचारीलाई जोगाउन खोज्छन्। होन्डाले आफ्ना इन्जिनियरलाई काखी च्याप्छ भने निशानले पनि आफ्नैलाई। यस्तोमा सरकारले पनि उनीहरूलाई अप्ठेरोमा पारिदिन्छ। कारखाना बन्द गर्दा कामदार बेरोजगार हुन्छन्। यस्तो अवस्थामा कम्पनीको मर्ज नै रोक्ने र भाँजो हाल्ने काम हुन सक्छ।

ठिक यस्तै द्वन्द्व फ्रान्सेली कम्पनी पुगेट र इटालीको फियाट क्रिसेलरको एकीकरणको अवसरमा देखिएको थियो। इटालीले आफ्नो देशको कारखाना बन्द गर्न नचाहने, उता फ्रान्सेलीहरू आफ्नो रोजगारी बचाउन भूमिका खेल्ने। यही द्वन्द्वका कारण यो एकीकरणका लागि भूमिका खेल्ने प्रमुख कार्यकारी कार्लोस टभारेसले राजीनामा नै दिनुपर्‍यो।

दुई दशकदेखि निशानको अर्को साझेदार रेनँटले पनि उसको व्यापार जोगाउन भूमिका खेलिरहेको छ। निशान र रेनँटको काम फत्ते गर्न प्रमुख कार्यकारी कार्लोस गोस्नले ठुलो भूमिका खेले र ती दुवैलाई एकीकरण गर्ने प्रयास गरे तर सकेनन्। उनीपछि जापान सरकारका सबैभन्दा मोस्ट वान्टेड करार गरिए मात्र होइन कि उनलाई अख्तियार दुरूपयोगको अभियोगमा नोभेम्बर २०१८ मा पक्राउसमेत गरियो। यो अलग कुरा हो कि उनी एक सय दिनपछि आफूलाई स्मग्लिङ गराउँदै लेबनानमा पुगी गायब भए। यो दुर्घटनायता निशान र रेनँटबिच सहकार्य टुट्यो।

अर्को यस्तै इतिहास डाइम्लर क्रिस्लरको छ। यिनले आफूलाई लक्जरी कारको कोटामा निकै माथि पुर्‍याए। यी दुईको मर्जरका कारण दुई कार्यकारीको शक्ति सन्तुलन मिलाउन निकै गाह्रो भयो। त्यसमा मुख्य कारण अमेरिकी र जर्मन दुई फरक संस्कृति र तिनको बुझाइ नै थियो। नौ वर्षपछि यी दुई कम्पनी अलग भए।

यसमा ती कम्पनी सञ्चालकको अहं नै सबैभन्दा ठुलो बाधा बन्यो। अहंका कारण निरन्तर झगडा चलिरह्यो र अन्ततः मर्जर नै असफल हुन पुग्यो। बेलायती रोभर र जर्मनीको बिएमडब्लुबिच यस्तै संघर्ष १९९० को दशकमा देखिएको थियो।

दक्षिण कोरियाली हुन्डाई र कियाको काम गर्ने शैली बरु संसारकै उत्कृष्ट देखिएको छ। उनीहरूले सँगै शोध गर्छन्, त्यसबाट निकालिएको परिणामलाई प्रयोग गरी हेर्छन्। जब बजारमा चल्छ भन्नेमा उनीहरू विश्वस्त हुन्छन्, एउटै कारलाई दुई ब्रान्डमा बेग्लाबेग्लै सेल्स र मार्केटिङ टोलीले हुन्डाई र किया नाममा संसारभर लैजान्छन्। यो जत्तिको सफल काम गराई अरूको देखिएको छैन। सन् १९९८ बाट उनीहरूको यो गठजोड अझैसम्म कायम छ।

संसारकै सबैभन्दा ठुलो कार बिक्रेताका रूपमा चिनिएको अटोनेसनका मुख्य कन्सल्टेन्ट मार्क क्यानन भन्छन्, ‘हुन्डाई र कियाले सफलताको जे कथा संसारलाई पढाएका छन्, ठिक त्यही कथा होन्डा र निशानले दोहो¥याउन सके भने उनीहरूले आफ्ना कम्पनीलाई जोगाउने छन्। मैले सबैभन्दा नबुझेको कुराचाहिँ होन्डाको गुणस्तरको छेउमा पनि नआउने निशानको सारा समस्याको भारी बोक्न किन उसले खोजिरहेको हो?’

–द न्युयोर्क टाइम्सबाट भावानुवाद 

प्रकाशित: ११ पुस २०८१ ०५:५३ बिहीबार

# Japanese car manufacturing companies # Car company