क्रिसमस डेका दिन रुसले युक्रेनी भूमिमा भीषण आक्रमण गरेको छ । पछिल्लो २४ घण्टाभित्र रुसी सेनाले १८४ वटा मिसाइल र ड्रोन आक्रमण गरेको युक्रेनको वायुसेनाले उल्लेख गरेको छ ।
रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्रहरू तथा ड्रोनहरू प्रयोग गरेर ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ । स्थानीय समयअनुसार बिहान १० बजेसम्म ५९ वटा मिसाइल र ५४ ड्रोन प्रहार भएको समाचारमा उल्लेख छ । थप ५२ वटा ड्रोन भने बीचमै निष्कृय बनाइएको युक्रेनको दाबी छ ।
आक्रमण विशेष गरेर खार्किभ, कीभ, निप्रोपेट्रोभस्क, पोल्टाभा, ज़ाइटोमिर, इभानो-फ्रान्किभस्क र जापोरिझियामा केन्द्रित थियो ।
यसैबीच युक्रेनी गोलाबारीमा रुसको कुर्स्क क्षेत्रको लगोभ सहरमा युक्रेनी गोलाबारीमा चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको उक्त क्षेत्रका कार्यवाहक गभर्नरले बताए ।
कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनका अनुसार पाँच तले भवन, दुई तले आवासीय भवन र एक तले ब्यूटी सैलुनमा क्षति पुगेको छ ।
कुर्स्कका केही भूभाग युक्रेनले गत अगस्टदेखि आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ । -बीबीसी
प्रकाशित: १० पुस २०८१ १८:२० बुधबार