अन्तर्राष्ट्रिय

कतारले दमास्कसमा १३ वर्षदेखि बन्द रहेको दूतावास पुनः खोल्यो

कतारले शनिबार सिरियाको राजधानी दमास्कसमा औपचारिक रूपमा आफ्नो दूतावास पुनः खोलेको छ। १३ वर्षपछि पहिलो पटक दमास्कसको माथिल्लो अबु रुम्मानेह नजिकैको दूतावास परिसरमा कतारको झण्डा फहराइएको थियो।

सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएपछि कतारको कुटनीतिक नियोग बन्द भएको थियो। डिसेम्बर ८ मा पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि सिरिया भ्रमण गर्न क्षेत्रीय र पश्चिमी प्रतिनिधिहरूको लहरको बीचमा दूतावास पुनः खोलिएको हो।

कतारको एक प्रतिनिधिमण्डलले सिरियाको संक्रमणकालीन सरकारका प्रतिनिधिहरूसँग भेट गरेको र सुरक्षा, शान्ति, विकास र समृद्धिका लागि सिरियाली जनतालाई सहयोग गर्ने कतारको प्रतिबद्धता दोहोर्याएको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताए। अल अन्सारीले बैठकले सिरियामा कतारी मानवीय सहायताको प्रवाह सुधार गर्न र यस महत्वपूर्ण चरणमा सिरियाली जनसंख्याको अत्यावश्यक आवश्यकताहरूको मूल्याङ्कन गर्नेबारे पनि छलफल गरेको थियो।

असादको पतनपछि औपचारिक रूपमा सिरियाको राजधानीमा कुटनीतिक कार्यहरू पुनःसुरु गर्ने टर्कीपछि कतार दोस्रो देश हो। एजेन्सी

प्रकाशित: ७ पुस २०८१ १०:१३ आइतबार