अन्तर्राष्ट्रिय

गोलान हाइट्समा इजरायली जनसङ्ख्या दोब्बर गर्ने नेतान्याहुको घोषणा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले कब्जा गरेको सिरियाली भू–भाग गोलान हाइट्स क्षेत्रमा बस्ती विस्तार गर्न लागेको जानकारी दिएका छन्। 

बीबीसीका अनुसार सो क्षेत्रमा इजरायली जनसङ्ख्यालाई दोब्बर बनाउने लक्ष्य राखिएको छ। नेतान्याहुका अनुसार यस योजना अन्तर्गत गोलान हाइट्समा बसोबास गर्ने इजरायली नागरिकहरूको सङ्ख्या हालको बीस हजारलाई दोब्बर गरेर चालीस हजारसम्म पुर्‍याउने लक्ष्य छ। 

सन् १९६७ मा इजरायलले गोलान हाइट्स कब्जा गरेको थियो। त्यसपछि सन् १९८१ मा यसलाई आफ्नो अधिकारक्षेत्रमा पूर्ण रूपमा समावेश गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन। गोलान हाइट्स दक्षिणपश्चिम सिरियाको चट्टानी पठार (कम्तिमा एक छेउमा वरपरको क्षेत्रभन्दा एकदमै माथि उठेको समतल भू–भाग भएको उच्च भूमिको क्षेत्र) हो। यसकाे सामरिक र रणनीतिक महत्व छ। 

नेतान्याहुले यस क्षेत्रलाई थप समृद्ध र सुरक्षित बनाउन इजरायली प्रभाव बढाउने र बसोबास विस्तार गर्ने योजनाका बारेमा बताएका छन्। अहिले गोलान हाइट्समा ३० भन्दा बढी इजरायली बस्तीहरू अवस्थित छन्। नेतान्याहुको यो घोषणापछि मध्यपूर्वमा नयाँ विवादको कारण उत्पन्न हुने देखिएकाे छ। 

प्रकाशित: १ पुस २०८१ ०८:०२ सोमबार

#BenjaminNetanyahu #Golan Heights