अन्तर्राष्ट्रिय

अभिनेता अल्लू अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा

Photo: Noah SEELAM/AFP

‘पुष्पा-२’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका अभिनेता अल्लू अर्जुनलाई कर्नाटक उच्च अदालतले धरौटीमा रिहा गरेको छ। यसअघि उनलाई हैदराबादको स्थानीय अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो।

शुक्रबार बिहान १२ बजे आफ्नै निवासबाट अल्लूलाई पक्राउ गरी स्थानीय अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई न्यायिक हिरासतमा पठाएपछि उनले उच्च अदालतमा अपिल गरे। दिउँसो ५ बजे उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अल्लू अर्जुनमाथि ४ डिसेम्बरमा हैदराबादको संध्या थिएटरमा बिना जानकारी पुगेको आरोप छ। उक्त घटनापछि ठूलो भीड जम्मा भई भागदौड मच्चिँदा केही व्यक्तिहरू घाइते भएका थिए र एक महिलाको ज्यान गएको थियो।

उच्च अदालतमा अल्लूका वकिलले शाहरुख खानको फिल्म ‘रईस’ को घटनाको उदाहरण दिँदै यस्ता घटनामा कलाकारहरूलाई सिधा दोष दिनु अन्याय हुने बताएका थिए।

गिरफ्तारीका क्रममा प्रहरीको व्यवहारप्रति अल्लूले आपत्ति जनाएका छन्। उनलाई प्रहरीले खाजा समेत खान नदिएको र कपडा फेर्न अनुमति नदिएको आरोप लगाएका छन्।

प्रहरीले अल्लूलाई हिरासतमा लिएर बयान लिएको र मेडिकल परीक्षणका लागि उस्मानिया अस्पताल लगिएको जनाएको छ। अल्लूमाथि बीएनएसको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

थिएटर प्रशासनले भने अल्लूको प्रिमियरको दुई दिनअघि नै प्रहरीलाई जानकारी दिएको दाबी गरेको छ। तर, प्रहरीले भने कुनै सूचना नपाएको बताएको छ।

४ डिसेम्बरमा बिना जानकारी थिएटर पुगेपछि अल्लूलाई देख्न फ्यानहरू आतुर हुँदै थिएटरभित्र छिर्न खोजेका थिए। यसले गर्दा ठूलो भीड भेला भई अक्सिजनको कमीका कारण केही व्यक्तिहरू बेहोस भएका थिए। पुलिसले भीडलाई नियन्त्रण गर्न हल्का लाठीचार्ज गरे पनि, एक महिलाको मृत्यु भएको थियो।

‘पुष्पा-२’ का कारण अल्लू अर्जुन चर्चामा छन्। उनलाई गुगलमा व्यापक रूपमा खोजी भइरहेको छ, जसका कारण उनी ट्रेन्डिङमा छन्।

प्रकाशित: २८ मंसिर २०८१ १८:३६ शुक्रबार