अन्तर्राष्ट्रिय

अल्लु अर्जुनलाई हिरासतमा राख्न अनुमति, पीडित परिवार मुद्दा फिर्ता लिन तयार

Photo: Noah SEELAM/AFP

चलचित्र ‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको ज्यान गएको मुद्दामा पक्राउ परेका दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको छ।

हैदरावाद प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको थियो। स्वास्थ्य परीक्षणपछि प्रहरीले अल्लु अर्जुनलाई साँझ अदालतमा पेस गरेको थियो। अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको हो। तल्लो अदालतको फैसलालाई उनले उच्च अदालतमा चुनौती दिएका छन्। उनलाई चंचलगुडा कारागार लगिएको छ।

अभिनेता अर्जुनमाथि डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा भएको फिल्म पुष्पा २ को प्रिमियरमा बिना जानकारी आएको आरोप छ। जसकारण उनलाई हेर्न भीड जम्मा भयो। अटोग्राफ लिन खोज्दा झडप भएको थियो। त्यस क्रममा भागदौड मच्चियो। धेरै जना घाइते भए। एक महिलाको मृत्यु भयो।

सो घटनापछि सन्ध्या थिएटरको व्यवस्थापक, अभिनेता अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरिएको हो। सरकारी वकिलको कार्यालयका अनुसार यस प्रकरणमा अल्लु अर्जुनसहित ७ जनालाई पक्राउ गरिएको छ। यसैबीच भागदौडमा श्रीमती गुमाएका श्रीमानले आफू मुद्दा फिर्ता लिन तयार रहेको बताएका छन्।

महिलाको मृत्युलाई लिएर अभिनेता अर्जुनले पनि शोक व्यक्त गर्दै पीडित परिवारलाई भेटेर २५ लाख सहयोग गर्ने आश्वासन पनि दिएका थिए। अल्लु अर्जुनले आफूमाथिको मुद्दा खारेज गर्न माग गर्दै उच्च अदालतमा अपिल दायर गरेका छन्।

यो पनि पढ्नुहोस्

अभिनेता अल्लू अर्जुन उच्च अदालतबाट धरौटीमा रिहा

प्रकाशित: २८ मंसिर २०८१ १७:५० शुक्रबार

#NagarikNews #Allu Arjun