अन्तर्राष्ट्रिय

खुर्सानी खाएपछि एक मानिस अस्पताल भर्ना

वासिङ्टन– खुर्सानी खाने प्रतियोगितामा विश्वकै सबैभन्दा पिरो खुर्सानी खाएका एक मानिसलाई अत्याधिक टाउको दुखेपछि अस्पताल भर्ना गरिएको छ।

अमेरिकाको न्युयोर्क स्टेटमा आयोजना भएको खुर्सानी खाने प्रतियोगिताका एक ३४ वर्षीय प्रतियोगीले क्यारोलिना रियपर नामक विश्वकै सबैभन्दा पिरो खुर्सानी खाएका थिए ।
खुर्सानी खाएको केही दिनपछि ती प्रतियोगीलाई अत्याधिक टाउको दुखाईको अनुभूति भएपछि अस्पताल भर्ना गरिएको बिबिसीले जनाएको छ ।खुर्सानी खाएर मानिस बिरामी परेको घटना पहिलो भएको भन्दै उनको अनुभवबारे बिमएजी मुद्दा प्रतिवेदनमा प्रकाशन गरिएको छ।

ती प्रतियोगीको स्वास्थ्य जाँचमा संलग्न चिकित्सकले पिरो खुर्सानी खाएर सहनै नसकिने गरि टाउको दुखेमा जो कोहीले पनि तत्काल चिकित्सकीय उपचार खोज्नुपर्ने बताएका छन् ।
‘थन्डरक्ल्याप’ नामक टाउको दुखाइ दिमागमा रगत पठाउने धमनी तत्कालै सानो हुनेबित्तिकै हुने र उक्त टाउको दुखाइलाई चिकित्सकीय भाषामा ‘भासोकन्सट्रिक्सन सिन्ड्रोम’ भनिने चिकित्सकले बताएका छन्।

प्रतियोगितामा खुर्सानी खानेबित्तिकै ती प्रतियोगीले आफूलाई कसैले उचालेको अनुभूति गरेको बताएका थिए । त्यसको केही दिनपछि उनको घाँटीमा कडा दुखाइ महसुस भएको र त्यसपछि टाउकोको दुखाइ बढेको बताइएको छ ।उनको टाउको दुखाइ यति खराब थियो कि उनी तत्काल अस्पतालको एमर्जेन्सी कक्षमा प्रवेश गरेका थिए । अस्पताल पुगेपछि उनले आफ्नो दिमागी अवस्थाका बारे विभिन्न परीक्षण गरेको र नतिजा नकारात्मक रहेको थियो।

सिटी स्क्यानको नतिजामा उनको दिमागको विभिन्न धमनीहरुमा दबाब सिर्जना भएको देखिएको थियो । एउटा क्यारोलिना रियपर नामक उक्त खुर्सानीले औसतमा १५ लाख ६९ हजार स्कोभिल्ले हिट युनिट्स उत्पादन गर्ने गर्दछ । सन् २०१३ को गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले क्यारोलिना रियपरलाई विश्वकै सबैभन्दा पिरो खुर्सानी भनेर उल्लेख गरेको थियो । उक्त खुर्सानी दक्षिणी क्यारोलिनाको पकर बट पेप्पर कम्पनीका एड क्युरीले करिब १० वर्ष अघि पत्ता लगाएका थिए।

उनले त्यो प्रजातिको खुर्सानीमा पाइने क्याप्साइकिन नामक पदार्थ क्यान्सरविरुद्धको औषधि बनाउनमा प्रयोग हुने क्षमता देखेपछि खुर्सानीको खेती सुरु गरेका थिए । उनले आफूले उत्पादन गर्ने खुर्सानीको आधा हिस्सा क्यान्सरसम्बन्धी अनुसन्धानका लागि दिने गरेका छन्।

प्रकाशित: २९ चैत्र २०७४ ०३:१२ बिहीबार

खुर्सानी खाएपछि मानिस अस्पताल भर्ना