अन्तर्राष्ट्रिय

‘साउदी अरबमा विश्वकप चिन्ताजनक’

सन् २०३४ को पुरुष विश्वकप फुटबल साउदी अरेबियामा हुने घोषणासँगै विश्वका मानवअधिकारवादी, फुटबल प्रशासक, ट्रेड युनियन तथा आप्रवासी अधिकारसम्बद्ध संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। साउदी अरेबियामा आप्रवासी कामदार, खेल्न हेर्न आउने दर्शक र स्थानीयलाई गम्भीर जोखिम रहेको उनीहरूको तर्क छ।

अर्थपूर्ण सुरक्षाको ग्यारेन्टीबिना खेलकुद आयोजनाको घोषणा हुनुले आफूहरूले धेरै अघिदेखि साउदी अरेबियामा खेलकुद आयोजना हुँदा गम्भीर जोखिम हुने भनेर दिएको सुझावलाई वास्ता नगरिएको उनीहरूको दाबी छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै एम्नेस्टी इन्टरनेसनल, ह्युमान राइट्स वाच्, स्पोटर्स एन्ड राइट्स एलायन्स, फुटबल सपोर्टर युरोप लगायत २१ संस्थाहरूले फिफाले आफ्नै मानवअधिकारप्रतिको नतिजालाई खारेज गरेको बताएका छन्।

‘फिफाले अत्यन्त कमजोर मानवअधिकार संरक्षण भएको देशमा आफ्नो प्रमुख कार्यक्रम आयोजना गर्ने जोखिमको गम्भीरतालाई थाहा नभएको दाबी गर्न सक्दैन,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्।

साउदी अरेबियामा आप्रवासी कामदारहरूलाई शोषण तथा नश्लवाद कायम रहेको, शान्तिपूर्ण आफ्ना विचार राख्दा कैयौंले दशकौंदेखि जेलसजाय पाएको, महिला र एलजिबिटीआई समुदायप्रति भेदभाव रहेको उनीहरूको दाबी छ।

‘यो स्पष्ट छ कि तत्काल ठोस कदम र व्यापक सुधारबिना आयोजना भए सन् २०३४ को विश्वकप ठुलो मात्रामा दमन, भेदभाव र शोषणले कलंकित हुनेछ,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्।

यी संस्थाहरूले आप्रवासी कामदार, स्थानीयवासी, नागरिक, खेलाडी, प्रशंसक, कार्यकर्ता वा पत्रकारहरूको अधिकार र सुरक्षाका लागि आफूहरूले वकालत र पैरवी जारी राख्नेसमेत बताएका छन्।

प्रकाशित: २८ मंसिर २०८१ १०:०५ शुक्रबार