अन्तर्राष्ट्रिय

टेस्लाको गाडी दुर्घटनामा मृत्यु : परिवारद्वारा मस्क र कम्पनीविरुद्ध मुद्दा

क्यालिफोर्नियाका एक व्यक्तिको परिवारले टेस्ला र कम्पनीका सीईओ एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। परिवारको आरोप छ कि टेस्ला र मस्कले आफ्नो पूर्ण स्वचालित (फुल सेल्फ–ड्राइभिङ) प्रविधिलाई पूर्ण रूपमा सडकको लागि तयार भएको दाबी गरेका थिए, जुन गलत छ।

३१ वर्षीय जियोभन्नी जोवानी मेन्डोजा मार्टिनेजको २०२३ को फेब्रुअरी १८ मा टेस्लाको मोडल एस गाडीमा पूर्ण स्वचालित मोडमा सवारी गर्दा एक भीषण दुर्घटनामा परी मृत्यु भएको थियो। मेन्डोजा परिवारका अनुसार, उनले टेस्लाको पूर्ण स्वचालित प्रणालीमाथि विश्वास गरेर गाडी किनेका थिए, तर कम्पनीले यसको क्षमताबारे गलत प्रचार गरेको थियो। दुर्घटनामा उनका भाइ कालेब पनि गम्भीर घाइते भएका थिए।

टेस्लाले प्रतिक्रिया दिँदै कम्पनीका गाडीहरूको डिजाइन उचित सुरक्षा परीक्षणबाट पास भएको र दुर्घटना जियोभन्नीको लापरवाहीका कारण भएको भनेको छ। टेस्लाले पूर्ण स्वचालित मोडको प्रयोग गर्दा थप चेतावनी दिने कुनै उपायले दुर्घटना रोक्न नसक्ने पनि स्पष्ट पारेको छ। 

मार्टिनेज परिवारका वकिल ब्रेट श्राइबरले भनेका छन्, ‘यो एक उदाहरण हो जहाँ टेस्ला आफ्ना गाडीहरूको परीक्षण र विकास आम सडकमा गर्दैछ। दुर्घटनालाई रोक्न सकिन्थ्यो। कम्पनीलाई थाहा छ, उसका पुराना मोडेलका गाडीहरू अझै पनि सडकमा चलिरहेका छन्, जसले अन्य मानिसहरूको ज्यानलाई जोखिममा पार्न सक्छ।’

मेन्डोजा परिवारले आरोप लगाएको छ कि मस्कका सार्वजनिक दावीहरूको आधारमा जियोभन्नीले अटोपायलटमा विश्वास गरेका थिए, जसको परिणामस्वरूप दुर्घटना भएको हो। परिवारका कानूनी टोलीले टेस्लाले पूर्ण स्वचालित प्रणालीको कमजोरीलाई लुकाएर नयाँ सफ्टवेयर अपडेटको रूपमा जारी गरेको आरोप पनि लगाएको बेलायती अखबार दी इन्डिपेन्डेन्टले लेखेको छ। 

जियोभन्नी मेन्डोजा टेस्ला मोडल एस गाडीमा सवार थिए, र उनका भाइ कालेब पनि सँगै थिए। पूर्ण स्वचालित मोड सक्रिय थियो। स्थानीय समय अनुसार उनीहरू बिहान ४ बजे इन्टर्स्टेट ६८० मा यात्रा गर्दै थिए, तब दुर्घटना भयो। 

परिवारको मुद्दामा टेस्ला र मस्कका सार्वजनिक बयानलाई भ्रामक र झुटो बताइएको छ। विशेषगरी मस्कका २०१४ र २०१६ का बयानहरू, जसमा उनले पूर्ण स्वचालित प्रविधिलाई ‘मानव चालक भन्दा बढी सक्षम’ भएको र भविष्यमा पूर्ण स्वचालित गाडीहरू उपलब्ध हुने दाबी गरेका थिए।

टेस्ला पूर्ण स्वचालित प्रणाली अपूर्ण रहेको भन्दै यसले दुर्घटना रोक्न सक्दैन भन्ने आरोपमा भनेको छ। टेस्लाले मेन्डोजा र उनका भाइको गलत प्रयोगलाई दुर्घटनाको कारण ठहराउँदै पूर्ण स्वचालित प्रणालीको दोष नकारेको छ। 

मेन्डोजा परिवारको दायर गरेको मुद्दा वर्तमानमा अमेरिकी सङ्घीय अदालतमा विचाराधीन छ। यो मुद्दा पहिले राज्य अदालतमा दायर गरिएको थियो, तर हाल यसलाई सङ्घीय अदालतमा पठाएको छ। 

प्रकाशित: २४ मंसिर २०८१ ११:०३ सोमबार

#Tesla #Elonmusk