अन्तर्राष्ट्रिय

आयु तपाईंको वशमा छैन भन्थे उड

विश्वकै सबैभन्दा वृद्ध पुरुष जोन अल्फ्रेड टिनिस उडको सोमबार निधन भएको छ। बेलायतको साउथ पोर्ट केयर होममा ११२ वर्षीय टिनिस उडको निधन भएको उनको परिवारले पुष्टि गरेको बिबिसीले जनाएको छ।

गत अप्रिलमा ११४ वर्षीय जुआन भिसेन्ट पेरेज मोराको मृत्यु भएसँगै टिनिस उड विश्वकै सबैभन्दा बढी उमेरका पुरुष बनेका थिए। उनी आजीवन लिभरपुल फुटबलका फ्यान थिए। उडको अन्तिम दिन ‘संगीत र प्रेमले भरिएको’ उनको परिवारजनले बताएका छन्। उनको जन्म अगस्त १९१२ मा भएको थियो।

सन् २०२० यता उनी बेलायतको सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए। उनलाई सन् २०२४ को अप्रिलमा गिनिज बुक अफ रेकर्ड्सले विश्वका सबैभन्दा वृद्ध मानिसको रूपमा मान्यता दिएको थियो। उडको परिवारले उनीसँग ‘धेरै राम्रा गुणहरू’ रहेको विज्ञप्तिमार्फत जनाएको छ।

‘उनी बुद्धिमान्, निर्णायक र साहसी थिए। सँगसँगै कुनै पनि संकटमा शान्त रहने, गणितमा प्रतिभाशाली र राम्रो गफगाफ गर्ने गुण उनीसँग थियो,’ परिवारजनले भनेका छन्। उडले बिबिसीसँगको कुराकानीमा युवा अवस्थमा आफू धेरै सक्रिय रहेको र धेरै हिँड्ने बताएका थिए। उनले आफ्नो  दीर्घायुका बारेमा कुनै जानकारी नभएको बताएका थिए। ‘म अरू कोहीभन्दा भिन्न छैन। धेरै बाँच्ने अथवा थोरै बाँच्ने भन्नेमा तपाईं स्वयंले धेरै फरक पार्न सक्नु हुन्न।’

उडको प्यारो लिभरपुल फुटबल क्लब उनी जन्मनुभन्दा २० वर्षअघि स्थापना भएको थियो। उनी आफ्नो सयौं जन्मदिनभन्दा ठिकअघि साउथपोर्टको होलिस रेस्ट केयर होममा सरेका थिए।

सय वर्ष पुगेदेखि उनले बेलायती महारानी तथा राजाबाट वार्षिक रूपमा जन्मदिनको कार्ड प्राप्त गरेका थिए। सुरुमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयबाट यस्ता कार्ड पाएका थिए, जो उनीभन्दा १४ वर्ष कनिष्ठ थिइन्। त्यसपछि उडले वर्तमान राजा चाल्र्स तृतीयबाट हरेक वर्ष जन्मदिनमा विशेष कार्ड पाउँदै आएका थिए। परिवारले उडको पछिल्लो जन्मदिनमा बेलायत र विश्वभरका धेरै मानिसले पठाएका शुभकामनाप्रति धन्यवाद दिएको छ।

‘उहाँले जन्मदिनको शुभकामना र समर्थनका सन्देशहरूको साँच्चै प्रशंसा गर्नुभएको थियो,’ उडको परिवारद्वारा जारी विज्ञप्तमा लेखिएको छ। विश्वको सबैभन्दा वृद्ध महिला र व्यक्ति जापानकी टोमिको इटोका हुन्। उनी ११६ वर्षकी छन्।

हालसम्म दीर्घायुको सर्वाधिक कीर्तिमान् राख्ने व्यक्ति जापानका जिरोमोन किमुरा हुन्। उनी ११६ वर्ष ५४ दिनसम्म बाँचेका थिए। उनको सन् २०१३ मा मृत्यु भएको थियो।

प्रकाशित: १३ मंसिर २०८१ ०९:४३ बिहीबार

# John Alfred Tinnis Ud # The oldest man in the world