अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

सोल – भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। 

पूर्वराष्ट्रपति लि म्युङ बाकलाई सोमबार भ्रष्टाचार, कर छली र दुरुपयोगको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

सोलमा रहेको केन्द्रीय जिल्ला न्यायाधिवक्ताको कार्यालयले ‘अटो पार्टस्’ बनाउने डिएएस नामक कम्पनीको खास मालिक लि नै भएको पत्ता लागेकाले उनलाई पक्राउ गरिएको जनाएको छ। 

यस विषयमा झण्डै तीन महिनादेखि गरेको अनुसन्धानबाट सो कम्पनीमा उनको संलग्नता र त्यहाँ भएको अनियमितता पुष्टि भएको अधिकारीहरुले बताएका छन्। लिको कम्पनी डिएएसले उनको प्रभावमा परेर अवैध रुपमा झण्डै तीन करोड २७ लाख अमेरिकी डलर दिलाएको पाइएको छ। 

सन् २०१३ देखि लिले पाँच वर्षसम्म उच्च सरकारी अधिकारीको रुपमा सो कम्पनीलाई सहयोग गर्दै आएका थिए। देशको सबै भन्दा ठूलो कम्पनीको रुपमा रहेको सामसुङ ग्रुपसँग उनले ५८ लाख ५० हजार अमेरिकी डलर घुस लिएको न्यायाधिवक्ताको कार्यालयले अरोप लगएको छ।

सामसुङ कम्पनीका सामानहरूलाई अमेरिका पठाउनका लागि भन्सार राजश्व छुट गराइदिन सो घुस उनले लिएको पाइएको अधिकारीले बताएका छन्। राजनीतिक तथा व्यावसायिक फाइदाका लागि लिले अन्य ठाँउहरुबाट पनि अरु लाखौं डलर घुस लिएको विश्वास गरिएको छ। 

लि राष्ट्रपति भएको बेलाका राष्ट्रपति कार्यालयका तीन हजार चार सय दुई ओटा फाइलहरू नियन्त्रणमा लिइएको छ । ती फाइलहरुमा उनी नै संलग्न भएको अनुमान गरिएको छ । नियन्त्रणमा लिइएका फाइल लिले गरेका अवैध कामसँग सम्बन्धित रहेको बताइएको छ। 

उनीमाथि लगाइएको आरोप पुष्टि भएमा उनलाई कर छली, भ्रष्टाचार, सरकारी स्रोत साधन र शक्तिको दुरुपयोग गरेको अभियोगमा कारबाही हुने भएको छ। 

प्रकाशित: २६ चैत्र २०७४ १०:०८ सोमबार

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको अभियोग