अन्तर्राष्ट्रिय

श्रीलंका संसदीय निर्वाचनः २२६ सीटका लागि ८ हजारभन्दा बढी उम्मेदवार मैदानमा

श्रीलंकामा संसदीय निर्वाचनको मतदान सुरु भएको छ। स्थानीय समयानुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिने छ।

कुल २२६ सीटहरूका लागि ८ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा छन्। श्रीलंकामा १ करोड ७० लाखभन्दा बढी योग्य मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अपेक्षा गरिएको छ। श्रीलंकामा बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक हुन्छ।

राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) र विपक्षी राजनीतिक दल दुवैका लागि यो निर्वाचन महत्वपूर्ण मानिएको छ। चुनावको नतिजा शुक्रबार आउने अपेक्षा गरिएको छ। 

श्रीलंका स्वतन्त्र भएपछि पहिलोपटक पूराना दललाई पछि पार्दै राष्ट्रपति दिसानायकेले २१ सेप्टेम्बरमा राष्ट्रपतिको चुनाव जितेका थिए। यो चुनाव श्रीलंकाका लागि निर्णायक मानिएको छ। आफ्नो सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर आउन संघर्ष गरिरहेको छ।

श्रीलंकाको आर्थिक उथलपुथलले राजनीतिक संकट निम्त्याएको हो। जनताको आन्दोलन उग्र बनेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षे २०२२ मा राजीनामा दिएर देश छाडेर भागे। त्यसपछि संसदले विक्रमासिङ्घेलाई राष्ट्रपति बनायो। विक्रमासिङ्घेको नेतृत्वमा अर्थतन्त्र केही स्थिर भयो, मुद्रास्फीति घट्यो, स्थानीय मुद्रा बलियो भयो र विदेशी सञ्चिति बढेको थियो। तर आईएमएफका सर्तहरू पूरा गर्न उनको सरकारले जनतामाथि बिजुलीको बिल भार बढाउनुपर्यो। 

व्यवसायीमाथि भारी नयाँ आयकर लगाएर राजस्व बढाउन खोज्दा जनतामा असन्तुष्टि बढ्दै गयो। जसकारण उनले राष्ट्रपति चुनावमा हार व्यहोर्नुपर्यो। भ्रष्टाचारको आरोप लागेका अघिल्लो सरकारका मन्त्री, अधिकारीहरूलाई कारबाही गरेर चोरीको सम्पत्ति फिर्ता गर्ने नारासहित दिसानायकेले चुनाव जितेका हुन्। संसदीय निर्वाचनमा पनि उनको दलले जित हात पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २९ कार्तिक २०८१ ०९:१० बिहीबार

#srilanka #election in srilanka