अन्तर्राष्ट्रिय

जबालिया शरणार्थी शिविरमा इजरायली आक्रमण, १० जनाको मृत्यु

इजरायली सेनाले जबालिया शरणार्थी शिविरमा गरेको पछिल्लो आक्रमणमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ। योसँगै गाजामा ज्यान गुमाउनेहरूको संख्या ४३ हजार सात सय नाघेको छ।

इजरायली आक्रमण बढेसँगै लेबनानी सशस्त्र समूह हिज्बुल्लाहले पनि इजरायली सैनिकलाई लक्षित गरेर रकेट आक्रमण बढाएको छ।

हिज्बुल्लाहले तेल अभिवको किर्या सैन्य शिविरमा २३ वटा रकेट आक्रमण गरेको दाबी गरेको छ। समूहका प्रमुख नाइम कासेमले आफ्नो लडाई जारी राख्ने र इजरायलमाथि विजय प्राप्त गर्ने वाचा गरेका छन्।

इजरायली सेनाले दक्षिणी लेबनानमा भएको लडाईमा थप ६ जना सैनिकको मृत्यु भएको जनाएको छ। योसँगै लेबनानमा स्थल कारवाही सुरू भएकोदेखि अहिलेसम्म ४७ इजरायली सैनिकको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा परेर ३ हजार ३०० भन्दा धेरै आम सर्वसाधारणले ज्यान गुमाएका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले अब आक्रमण रोक्ने समय आएको टिप्पणी गरेका छन्। उनका अनुसार गाजामा इजरायल हमासको सैन्य संरचनालाई ध्वस्त गर्न सक्ने रणनीतिक उदेश्यमा सफल भएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद ९यूएनएससी०ले लेबनान द्वन्द्वका सबै पक्षहरूलाई शान्ति सेनाको सुरक्षालाई सम्मान गर्न आग्रह गरेको छ। यूएनएससीले लेबनानको दक्षिणमा इजरायलले आक्रमणपछि मार्च १९७८ मा यूएनआईएफआईएल स्थापना गरेको थियो।

प्रकाशित: २९ कार्तिक २०८१ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App