अन्तर्राष्ट्रिय

आइपीएलको छायाँमा बलिउड

मुम्बई – बलिउडमा क्रिकेट र फिल्ममा समानता छ । क्रिकेटमा कुनै ब्याट्सम्यानले आफ्नो सतक रन पुर्‍याउँदा र फिल्मको ब्यापारले सय करोड नाघ्दा हर्षोल्लास मनाइन्छ । तर इन्डियन प्रिमियर लिग (आइपीएल) हुँदा भारतमा धेरै निर्माता तथा वितरकका लागि टाउको दुखाइको विषय बन्छ।

खासगरी आइपिएलकै सेरोफेरोमा फिल्म रिलिज हुँदा दर्शकको ध्यान फिल्मभन्दा क्रिकेटमा मोडिएपछि त्यसले बक्स अफिसमा ठूलो असर पुर्‍याउने गरेकाले पनि फिल्मकर्मीका लागि टाउको दुखाइको विषय बनेको हो।

गत शनिबारबाट सुरु भएको आइपिएलका कारण रिलिजको तयारीमा रहेका फिल्मको ब्यापारको विषयमा अंकगणित सुरु भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार आइपीएलमा रिलिज भएका फिल्मको सप्ताहन्त कलेक्सन प्रभावित हुने गरेको छ । आइपिएलका महत्वपूर्ण खेलहरू प्रायः साताको अन्त्यमा राखिने भएकाले पनि दर्शकको ध्यान त्यो बेला फिल्ममा भन्दा क्रिकेटमा हुने गरेको छ।

शनिबारबाट सुरु भएको आइपिएलका कारण शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ब्ल्याकमेल’को कलेक्सनमा स्पष्ट असर देखिएको छ । फिल्मको कलेक्सनमा दोस्रो दिन अर्थात शनिबार केवल ३७ प्रतिशतले मात्र वृद्धि भयो । जानकारका अनुसार यदि शनिबार आइपिएल सुरु नभएको भए फिल्मको कलेक्सन आँकडा दोब्बर हुने थियो ।बलिउडका फिल्म निर्माताहरू आइपिएल आसपास कुनै पनि फिल्म रिलिज गर्न चाहँदैनन् । आइपिएलको यो सिजनको अन्तिम प्रतिस्पर्धा मे २७ मा हुनेछ । यो समयमा झन्डै १० फिल्म रिलिजको तयारीमा छन्।

आइपिएलकै समयमा अप्रिल १३ मा सुजित सरकारको फिल्म ‘अक्टुबर’ रिलिज हुँदैछ । फिल्ममा वरुण धवन र बनिता सन्धू प्रमुख भूमिकामा छन् । वरुणले आइपिएलको उद्घाटन कार्यक्रममा आफ्नो प्रस्तुति पनि दिएका छन् । उनले पहिलो खेल दर्शक दीर्घाबाट नियालेका पनि थिए।

फिल्म ‘अक्टुबर’ को एक सातापछि चार फिल्म प्रदर्शन हुँदैछन् । यो साता सुधिर मिश्राको ‘दासदेव’, हंसल मेहताको ‘ओमर्टा’, माजिद मजिदीको ‘बियोन्ड द क्लाउड्स’ र फराज हैदरको ‘नानू की जानू’ प्रदर्शन हुनेछन् । यी फिल्ममा ऋचा चड्डा, राजकुमार राव र अभय देवल जस्ता कलाकारको अभिनय रहेकाले पनि यी फिल्म महत्वपूर्ण मानिएका छन् ।
त्यस्तै, अप्रिल २७ मा रजनिकान्तको प्रतीक्षित फिल्म ‘काला’ रिलिज हुँदैछ।

यो फिल्मलाई वर्षकै ठूलो फिल्ममध्येमा हेरिएको छ । यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुँदैछ । यसैगरी मे ४ मा उमेश शुक्ला निर्देशित ‘१०२ नट आउट’ र अभिषेक शर्माको ‘परमाणु ः द स्टोरी अफ पोखरण’ रिलिज हुँदैछ । ‘परमाणु’ जोन अब्राहमको होम प्रोडक्सनको फिल्म हो भने ‘१०२ नट आउट’मा अमिताभ बच्चन र ऋषि कपुर जस्ता स्टार देखिँदैछन् ।
मे ११ मा मेघना गुलजार निर्देशित ‘राजी’ र अभिषेक डोगराको फिल्म ‘फ्राइडे’ रिलिज हुँदैछ । फिल्म ‘राजी’मा आलिया भट्ट र विक्की कौशल प्रमुख भूमिकामा छन्।

आइपिएलको फाइनल नजिकिँदै गएपछि फिल्म रिलिजको चाप भने बढ्दै गएको देखिन्छ । मे १८ मा कुनै पनि फिल्म रिलिजको लागि तयार नभए पनि त्यसको अर्को साता चाहिँ कुन फिल्म आउने भन्ने टुंगो छैन ।विक्रमादित्य मोटवानेको ‘भावेश जोशी’ आउने चर्चा भए पनि हालसम्म फिल्मले रिलिज डेट सार्वजनिक गरेको छैन । फिल्ममा हर्षवर्धन कपुर लिड रोलमा छन्।

सन् २०१७ को आइपिएल अप्रिल ५ देखि मे २१ सम्म भएको थियो । यो समयमा १६ फिल्म रिलिज भएका थिए । जसमा विद्या वालनको ‘बेगम जान’, सोनाक्षी सिन्हाको ‘नूर’ र रवीना टण्डनको ‘मातृ’ थियो । तर यो समयमा दुई फिल्म ‘हाफ गर्लफ्रेण्ड’ र ‘हिन्दी मीडियम’ मात्र चले । बाँकी फिल्म बक्स अफिसमा फ्लप भए।

सन् २०१६ को आइपिएल अप्रिल ९ देखि २९ मेसम्म भएको थियो । यो बेला पनि १९ फिल्म हलमा आए । तर टाइगर श्राफको फिल्म ‘बागी’बाहेक सबै फ्लप रहे । केहीलाई मात्र औसत भनियो । शाहरुख खानको फिल्म ‘फ्यान’ले आइपिएल प्रभाव टार्न सकेको थिएन । फिल्म असफल साबित भएको थियो।

आइपीएलको नवौं संस्करणसम्मको प्रतियोगितालाई नियाल्दा यो समयमा बलिउडमा १ सय ४० फिल्म रिलिज भएका थिए । यीमध्ये १५ फिल्म सेमी हिट, पाँच फिल्मको औसत व्यापार र तीन फिल्म मात्र सय करोड क्लबमा दर्ता भए।
 

प्रकाशित: २६ चैत्र २०७४ ०३:५३ सोमबार

आइपीएलको छायाँमा बलिउड