अन्तर्राष्ट्रिय

काम गर्न निषेध गरेपछि राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिवन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गरेका छन्।

पत्रमार्फत गुटेर्रेसले गाजा र वेस्ट बैङ्कका प्यालेस्टिनीका लागि कानूनले ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने बताउँदै प्रभावितलाई आवश्यक सहायता प्रदान गर्न युएनआरडब्लुएको उचित विकल्प नभएको बताएका छन्।

गुटेर्रेसले इजरायललाई विनाशकारी परिणाम रोक्न र युएनआरडब्लुएलाई पूर्वी जेरुसेलम लगायतका प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय कानून अन्तर्गतका दायित्व र गतिविधि जारी राख्न अनुमति दिन पनि पत्रमार्फत् आग्रह गरेका छन्।

गुटेर्रेसले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कब्जा गर्ने शक्तिले कब्जा गरिएको क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सहयोग गर्ने सहमतिको कार्यान्वयन गर्नुपर्ने तर्कसमेत गरेका छन्।

इजरायली संसदले अनुमोदन गरेको उक्त कानुनले राष्ट्रसङ्घीय निकायलाई इजरायलमा सञ्चालनको प्रतिबन्ध लगाई इजरायली अधिकारीसँग सञ्चार तथा समन्वय गर्नबाट रोकेको छ। यसले गाजाका प्रभावित क्षेत्रमा सञ्चालित मानवीय सहायतालगायतको काम समाप्त गर्न सक्छ।

इजरायल लामो समयदेखि युएनआरडब्लुएसँग मतभेदमा रहेको छ। गत अक्टोबरमा गाजामा युद्ध सुरु गर्ने हमास हमलामा युएनआरडब्लुए केही कर्मचारीहरू संलग्न रहेको आरोप लगाएको छ। प्रतिबन्ध तीन महिनाभित्र सुरु हुने बताइएको छ।

प्रकाशित: १४ कार्तिक २०८१ १३:२५ बुधबार

#benjamin netnyahu #Antoniyo gutterrus