अन्तर्राष्ट्रिय

इजरायल र हिजबुल्लाहबीच तत्काल युद्धविरामको प्रस्ताव पारित गराउन राष्ट्रसंघलाई लेबनानको आग्रह

लेबनानले इजरायल र हिजबुल्लाह समूहलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघ समक्ष दुवै पक्षबिच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका हुन्।

टेलिभिजनमा सम्बोधन गर्दै उनले युद्धविराममा सहयोग गर्न आफ्नो मुलुकले इजरायलको सीमामा सेना तैनाथ गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै उनले यस विषयमा  हिजबुल्लाह पनि  सहमत भएको उल्लेख गरेका छन्।

सम्वोधनका क्रममा उनले लेबनानको विदेश मन्त्रालयले  सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने पनि सुनाए। लेबनानको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने सम्झौता कार्यान्वयन गर्न आफु प्रतिबद्ध रहेको भन्दै इजरायललाई पनि सहमति पालनाका लागि आव्हान गरेका छन्।

हिजबुल्लाहले लेबनानी अधिकारीहरूलाई सेप्टेम्बर २७ मा इजरायलसँग युद्धविराम स्वीकार गरेको समाचार बाहिरिएसँगै प्रधानमन्त्री मिकातीले राष्ट्रसंघलाई यस्तो आग्रह गरेका हुन्।

यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो।लगातार दुई दिन इजरायली सेनाले शान्ति सेनालाई लक्षित गरी आक्रमण गरेपछि लेबनानले युद्धविरामको प्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ।

एक वर्ष यता जारी युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने  १० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।  

प्रकाशित: २६ आश्विन २०८१ ०७:३९ शनिबार

#Najib Azmi Mikati #lebanon