अन्तर्राष्ट्रिय

बङ्गलादेशमा ८ महिनाको अवधिमा चट्याङ लागेर २ सय ९७ जनाको मृत्यु

बङ्गलादेशमा यस वर्ष चट्याङ लागेर करिब ३ सयजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन्।

यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २ सय ४२ पुरुष र ५५ महिला गरी २ सय ९७ जनाको मृत्यु भएको बताइएको छ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो।

सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय मृत्यु भएको बताइएको छ।

एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्यूज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ।

बङ्गलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्षेनी सयौँले अकालमा ज्यान गुमाउने गरेका उक्त संस्थाले जनाएको छ।

बङ्गलादेशले हालैका वर्षहरूमा चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या बढेको र विज्ञहरूले यो अवस्थालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेका पाइन्छ। रासस

प्रकाशित: २० आश्विन २०८१ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App