अन्तर्राष्ट्रिय

सांघाईको कृत्रिम पहाड

यस्तो पनि

चीनको सर्वाधिक घुइँचोयुक्त शहरका रूपमा सांघाईलाई चिनिन्छ। यहाँ कार पार्क गर्न पाइनुलाई भाग्यमानी ठानिन्छ। त्यो भाग्य सबैलाई बाँड्न शहरी विकास विभाग निकै प्रयत्नशील छ। यसका लागि सांघाईले आफ्नो वरपर रहेको समथर भूभागलाई पहाड बनाइरहेको छ र त्यो पहाडमा गाडी पार्किङ गरिनेछ।

हाङपु नदीबाट पूर्वी भेगमा रहेको समथर भूभाग पहिले पुदोङ भनेर चिनिन्थ्यो। त्यहाँ पहिले औद्योगिक क्षेत्र बनाइएको थियो। त्यो भेग यतिबेला पूरै फेरिएको छ। यहाँ परबाट हेर्दा ठूला दुई पहाड देखिन्छन्। रातारात उभिएको यो पहाड कृत्रिम पहाड हो। यहाँ रुखविरुवा र हरियाली देखिन्छ। यहाँ सन् २०१० मा वल्र्ड एक्स्पो आयोजना गरिएको थियो। त्यो बेलाको एक्स्पोका लागि भनेर बनाइएको यो क्षेत्रमा २७ र ४८ मिटर अग्ला ठूला पहाड बनिसकेका छन्। पहाडमा हरियाली थप्न यहाँ सात हजारभन्दा बढी रुख रोपिएका छन्। यहाँ सानातिना कृत्रिम झरना समेत बनाइएको छ।

अहिले यस क्षेत्रलाई सांघाईको ट्वीन हिल्स भनी चिनिन्छ। (केहीले भने यसलाई निप्पल माउन्टेन नाम राखेका छन् ।) चिनियाँहरूमा घरअगाडि पहाड देखिनुलाई शुभ मान्ने गर्छन्। त्यसैले सांघाईलाई पहाडको सुख दिन यो बनाइएको सांघाई शहर प्राधिकरणको भनाइ छ।

यो ट्वीन हिल्स बनाउन २.१ अर्ब युआन खर्च लागेको प्राधिकरणको भनाइ छ। अहिले यहाँ हाइकिङका लागि मेला लाग्ने गरेको छ। सात वर्षमा तयार भएको यो पहाड सर्वसाधारणका लागि खुला भएको दिन एकै झमटमा एक हजार जनाले भ्रमण गरेका थिए। चीनले धेरैलाई आश्चर्य पार्ने कामहरू गरेको छ। यो औद्योगिक क्षेत्रलाई भने कृत्रिम पहाड बनाउने खुबी देखेर सांघाईकै बासिन्दाहरू आश्चर्यमा पर्ने गर्छन्।

प्रकाशित: १८ आश्विन २०८१ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App