अन्तर्राष्ट्रिय

अवैध बाटो अमेरिकी यात्राः मेक्सिकोमा सेनाको गोलीबाट ६ जनाको मृत्यु, नेपाली हुनसक्ने आशंका

अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। त्यसमा नेपाली पनि हुनसक्ने आशंका गरिएको छ।

मेक्सिकोको रक्षा मन्त्रालयले मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरी ठाउँमा यो घटना भएको जनाएको छ। उक्त घटनामा थप १० जना आप्रवासी घाइते भएका छन्। 

मन्त्रालयका अनुसार मेक्सिकन सैनिक गस्तीमा निस्किएका बेला आप्रवासी बोकेको पिकअप गाडी तीव्र गतिमा यात्रा गरिरहेको अवस्थामा भेटिएको थियो। सेनाले उक्त गाडीलाई रोक्न खोजेको थियो। तर रोक्नबाट असफल भयो। ‘सेनाले विष्फोटको आवाज पनि सुनेको’ अधिकारीले दाबी गरेका छन्। गाडीमा सवार व्यक्तिले हतियार बोकेको आशंकामा दुई अधिकारीले गाडीमाथि गोली चलाएका थिए। सोही गोलीबाट ६ जनाको मृत्यु भएको हो। उक्त गाडीमा ३३ जना सवार रहेको बताइएको छ।

मेक्सिकन रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार उक्त गाडीमा सवार आप्रवासीहरू इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानबाट आएका थिए। मृत्यु हुनेहरूको राष्ट्रियता भने प्रस्ट खुलाइएको छैन।

गोली चलाएपछि खानतलासी गर्दा गाडीमा हतियार नभेटिएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। निहत्थामाथि गोली चलाएको विषयमा मेक्सिको सरकारले आफ्नै सैनिक अधिकारीमाथि अनुसन्धान पनि गरिरहेको छ।

अवैध बाटो हुँदै अमेरिका छिर्न चाहने हजारौँ आप्रवासीहरू प्रत्येक वर्ष दक्षिण अमेरिकाबाट मेक्सिको हुँदै बसहरू, ट्रक र मालबहाक रेलमार्फत यात्रा गर्छन्। यो मेक्सिकोका लागि सबैभन्दा ठुलो चुनौती बनिरहेको छ।

प्रकाशित: १७ आश्विन २०८१ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App